दशरथ रंगशालामा मिर्गौला प्रत्यारोपित समूह र चिकित्सकको समूहबीच फुटवल प्रतियोगिता हुने
काठमाडौँ, २३ फागुन । मिर्गौला प्रत्यारोपित व्यक्तिहरुको समूह र प्रत्यारोपण गरिदिने चिकित्सकहरुको समूहबीच आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यो प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितालाई अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालले सह आयोजकको रुपमा सघाउने बताइएको छ ।
कार्यक्रमबारे जानकारी दिन सोमबार भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रि प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा त्यस केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको भन्दै अघि बर्षमा जस्तै यस वर्ष पनि मैत्रीपूर्ण फुटवल प्रतियोगिता गर्न लागिएको बताए ।
‘यसवर्षको विश्व मिर्गौला दिवसको दिन अर्थात आगामी विहीबार विहान ७ः४५ बजे काठमाडौँको शान्ति बाटिका (रत्नपार्क) बाट पदयात्रा गर्दै दशरथ रंगशालामा पुग्ने, त्यसपछि त्यहाँ प्रत्यारोपित अंगदाता र चिकित्सक, कलाकार, पत्रकार, समाजसेवीहरुबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुनेछ । कार्यक्रमको समापन समारोह तथा अंग दान तथा अंग प्रत्यारोपण सम्बन्धि अन्तत्र्रिmया कार्यक्रम रंगशालाको कर्भडहल भित्र नै हुनेछ,’ कार्यकारी निर्देशक डा श्रेष्ठले भने ।
उनले त्यस दिन थप विशिष्ठ व्यक्तिहरुबाट अंगदानको घोषणा हुने र स्वास्थ्य सेवा दिवसको अंगदानको घोषणा गरेका स्वास्थ्य मन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदास बैरागी लगायतलाई अंगदाता कार्ड वितरण गर्ने कार्यक्रम रहेको समेत बताए ।
डा श्रेष्ठले यसपटकको कार्यक्रम मस्तिष्क मृत्युबाट हुने अंगदान तथा अंग प्रत्यारोपण कार्यक्रमलाई विशेष जोड दिनको लागि यो कार्यक्रम विशेष हुनेछ भन्ने आशा लिइएको समेत बताए ।
विश्व मिर्गौला दिवस विश्वभर नै मार्च महिनाको दोस्रो बिहीबार मनाईन्छ । यसवर्ष दिवसको नारा मिर्गौला स्वास्थ्य सबैका लागि भन्ने रहेको छ ।
सम्पर्क इमेल : [email protected]