तत्कालिन स्वास्थ्य मन्त्रीले उपहारमा लिएको ‘कोरोनिल किट’ वितरणमा रोक

- नेपाली हेल्थ

काठमाडौँ, २६ जेठ ।  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जली योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि ती किट तत्काल वितरण नगर्ने निर्णय गरेको हो ।

गत साता पतञ्जलीले उपलब्ध गराएको १ हजार ६ सय किट तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले गत स्वास्थ्य मन्त्रालयमै बुझेका थिए ।

पतञ्जलीले स्वासारी ट्याब्लेट, नाकमा राख्ने अणु तेल र कोरोनिल ट्याब्लेट राखिएको ५० कार्टुन मन्त्रालयलाई सहयोग गरेको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले पतञ्जलीबाट प्राप्त ती औषधि श्वासप्रश्वास उपचारमा लाभदायी आयात प्रक्रिया नमिलेका कारण वितरणमा रोक लगाएको बताए ।

‘हामीकहाँ ५० कार्टुन आएको थियो । त्यसभित्र ३२ वटाको दरले किट रहेछ । जम्मा १६०० जति किट थियो । त्यसमा हामीले औषधि ल्याएपछि त्यसको गुणस्तर जाँच गर्‍यौं, नराम्रो हो भन्ने देखिएन । कोरोनाका उपचार भएका आयुर्वेद केन्द्रहरुमा पठाउने कि भन्दै थियौँ । तर यसको आयात प्रक्रिया मिलेको छैन् भन्ने कुरा थाहा पायौँ । औषधि व्यवस्था विभागले स्वीकृति नै नदिएको औषधि हामीले प्रयोग गर्न पनि मिल्दैन । त्यसैले यही थन्क्याएका छौँ’ महानिर्देशक डा उपाध्यायले भने ।

यसअघि भुटानले पनि कोरोनिल किट्मा रोक लगाइसकेको छ । यो किट भारतमै पनि विवादित छ ।


Facebook Comment


थप समाचार