२ फागुन देखि स्थानीय तहका जनप्रतिनिधिसहित सबै फ्रन्टलाइनरलाई खोप दिइँदै

काठमाडौँ, २९ माघ ।  गत १४ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेको सरकारले आगामी २ फागुन देखि पहिलो चरणको दोस्रो प्राथमिकता निर्धारण गर्दै खोप अभियान शुरु गर्ने भएको छ । दोस्रो चरणको खोप अभियानमा स्थानीय तहका जनप्रतिनिधि देखि फ्रन्टलाइन कर्मचारीले खोप पाउनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ फागुन देखि जिल्लास्थित सेवा प्रदायक सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुका कर्मचारीहरुले खोप पाउनेछन् । यस्तै पहिले छुटेका स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका, सव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा सववहान चालकले खोप पाउने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले यहि चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरु, स्थानीय पालिकाका कर्मचारीहरु, सशस्त्रको विओपीमा खटिएका, जनपथ प्रहरी, आर्मीको सव व्यवस्थापनमा खटिने सबैलाई खोप दिइने समेत जानकारी दिए । यस्तै २ फागुन देखि नै जिल्लास्थित सबै पत्रकारहरुले खोप पाउने व्यवस्था मिलाइएको बताए ।

यता मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले यसपटक दोस्रो चरणमा जिल्ला बाहेक स्थानीय पालिकासम्म खोप केन्द्र तय हुनसक्ने बताए । ‘यसपटक दोस्रो चरणको खोप स्थानीय तहसम्म नै पुग्ने भएकोले जिल्लाबाट स्थानीय तहसम्म पनि खोप केन्द्र विस्तार हुने कुरा छ,’ डा अधिकारीले भने । उनले पहिलो चरणमा छुटेका सबै स्वास्थ्यकर्मीहरुले यसपटक खोप लिन सक्ने समेत जानकारी दिए ।

यस्तै मन्त्रालयले आगामी २३ फागुन देखि उमेर समूह अन्तरगर्त आम सर्वसाधारणलाई खोप दिन शुरु गर्ने बताएको छ । त्यसबेला नै शिक्षक, गाडी चालक, पाइलट तथा एयर होस्टेजहरुलाई पनि खोप दिन शुरु गरिने उनले बताए ।

सो दिन देखि ५५ बर्ष माथि उमेर समूहका लागि खोप दिने योजना अघि सारिएको डा अधिकारीले बताए । उनले सोही दिन देखि नै पहिलो चरणमा खोप लिईसकेका व्यक्तिको दोस्रो चरणको खोप पनि शुरु हुने जानकारी दिए ।

‘२३ फागुनबाटै हामीले ५५ बर्ष उमेर माथिकालाई खोप दिन सुरु गर्नेछौँ । सोही दिनबाट पहिलो चरणको खोप लिएकाहरुको दोस्रो डोज खोप पनि दिन सुरु गर्नेछौँ,’ उनले भने ।

डा अधिकारीले यी अभियानका लागि आवश्यक खोपको सुनिश्चितता समेत भइसकेको दावी गरे । ‘हामीले थप खोप आउने सुनिश्चितता भएर नै चरणवद्ध रुपमा खोप कार्यक्रमको तालिका तय गरेका हौँ । आवश्यक थप खोप छिटै नै आउँदैछ ।’

भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज कोभिसिल्डबाट शुरु गरेको सरकारले अवको अभियानमा कोभ्याक्सबाट प्राप्त अनुदानको खोप, चीनबाट अनुदानमा प्राप्त हुन लागेको खोप तथा भारतबाटै खरीद गरेर ल्याउन लागिएको थप खोपको प्रयोग गर्ने योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *