दुई महिना भित्र सात प्रदेशमा खोप भण्डारण केन्द्र बनाउँदै सरकार, निर्माणको जिम्मा सेनालाई

944
Shares
यस्तो बन्नेछ खोप भण्डारण केन्द्र

काठमाडौं, २४ पुस । सरकारले दुई महिना भित्र काठमाडौँ सहित सात प्रदेशमा आठ वटा अत्याधुनिक खोप भण्डारण केन्द्र (वेर हाउस) बनाउने भएको छ । कोरोना खोप ल्याउने तयारी चलेकै बेला गत २० पुसमा बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशमा सात र काठमाडौँमा एक गरी आठ ठाँउमा अत्याधुनिक खोप भण्डारण केन्द्र बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप भण्डारण केन्द्र (वेर हाउस) निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले लागत अनुमान सहितको बजेट तथा भवनको डिजाइन समेत सेनालाई पठाइसकेको छ ।

वेरहाउसको काम दुई महिना भित्र सक्नुपर्नेछ । र त्यहाँ कोभिड लगायतका खोपहरुको भण्डारण गरिन्छ । मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रालयले प्रति केन्द्रको लागत अनुमान १ करोड ११ लाख ९५ हजार ७२६ रुपैयाँ तोकेको छ । प्राविधिक सहयोग एनएचएसएसपी र युके एडको प्राविधिक सहयोगमा वेरहाउस बनाउन लागेको हो ।

कोभिडविरुद्धको अभियानमा सरकारले यसअघि पनि सेनालाई अघि सारेको थियो । स्वास्थ्य सामग्री खरीदमा ओम्नी समूह विवादमा परेपछि दोस्रो स्वास्थ्य सामग्री खरीद गर्न सेनालाई अघि सारिएको थियो ।

स्वास्थ्यका अधिकारीहरुले २ देखि ८ डिग्री तामक्रममा राख्न मिल्ने खोपका लागि काम चलाउ खोप भण्डारण केन्द्र रहेपनि नियमित खोप अभियानका लागि थप भण्डारण केन्द्र चाहिने बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *