कोरोनाबाट मृत्यु भएकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप ८ जनामा संक्रमण

पाल्पा, १ असार । गत २० जेठमा कोरोना संक्रमणबाट मृत्यु भएका ४६ बर्षीय पुरुषको सम्पर्कमा रहेका ८ जनामा पनि कोरोना संक्रमण देखिएको छ । पूर्वखोला गाँउपालिका २ जल्पास्थित शम्भुमावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण देखिएको हो ।

उनीहरु गत २० जेठमा कोरोनाबाट मृत्यु भएका पूर्वखोला १ सिलुवाका ४६ बर्षीय पुरुषसंगै भारतबाट आएका व्यक्तिहरु हुन् ।

मुम्बईबाट आएको २७ जनाको समूह गत १८ जेठमा सुनौली नाकाबाट नेपाल छिरेको थियो । सो समूहलाई गाँउपालिकाले सवारी साधन उपलव्ध गराई सोही दिन राती जल्पास्थित शम्भुमावि क्वारेन्टाइनमा पुरयाएको थियो ।

आज पाल्पामा थपिएको १० संक्रमणमध्ये ८ जना उनै मृत्यु भएका पुरुषसंगै आएका उनका साथीहरु हुन् । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनीहरुमा पनि संक्रमण देखियो । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

गत १८ जेठमा क्वारेन्टाइनमा पुरयाइएको २७ जनाको समूहमध्येको एक जना ४६ बर्षीय पुरुषलाई सोही दिन रातीबाट स्वास्थ्यमा समस्या आएपछि १९ जेठमा तानसेनस्थित मिसन अस्पताल ल्याइ उपचार गरिएको थियो तर २० जेठमा उनको निधन भयो ।

निधनपछि स्वाब संकलन गरी भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउँँदा २२ जेठमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । स्वास्थ्य कार्यालयले निधन भएको सात दिनपछि क्वारेन्टाइनमा रहेका बाँकी सबैको स्बाव संकलन गरेको थियो । त्यसैको रिपोर्ट आज आएको हो ।

निमित्त प्रमुख न्यौपानेले बाँकी २ जना भने पूर्वखोला ४ आफरडाँडास्थित जनकल्याण आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेकाहरु भएको बताए । आज संक्रमण देखिएकाहरु

पूर्वखोला गाँउपालिका वडा नं १, २ ३ र ४ स्थायी ठेगाना भएका व्यक्तिहरु भएको बताए । संक्रमित सबै भारतबाट आएका पुरुषहरु र उनीहरुको २७ जेठमा नमूना संकलन भएको थियो ।

निमित्त प्रमुख न्यौपानेले संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य भएकोले गाँउपालिकासंगको समन्वयमा उनीहरुलाई क्वारेन्टाइनस्थलमै थप व्यवस्थित गरी राख्ने तयारी भएको बताए । आज १० थपिएसंगै पाल्पामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *