प्रदेश नं ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै


राँझा, १२ जेठ । बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार आइतबार जिल्लाका चार स्थानबाट १७१ जनाको स्वाब सङ्कलन गरिएको छ । डुडुवा, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाबाट स्वाब सङ्कलन गरिएको हो । बाँकेबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको १७५ जनासहित ३४६ जनाको स्वाबको परीक्षण नतिजा आउन बाँकी रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

बाँकेमा हालसम्म कोरोना परीक्षणका लागि दुई हजार ४ ४० जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये एक हजार ९५२ जनाको परीक्षण नतिजा नेगेटिभ तथा १४२ जनाको परीक्षण नतिजा पोजेटिभ देखिएको छ ।

बाँकेमा हालसम्म एक हजार १४२ जनाको आरडिटी गरिएको छ । आइतबार मात्रै ४४ जनाको आरडिटी गरिएको र नतिजा नेगेटिभ आएको श्रेष्ठको भनाइ छ । बाँकेमा एक जनाको ज्यान जाने गरी नेपालगञ्ज उपमहानगरपालिका तथा नरैनापुर, राप्तीसोनारी र खजुरा गाउँपालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने उपमहानगरपालिकाका २१ जना निको भएर घर फर्किसकेका छन् ।

चार स्थानीय तहमा कोरोना

कोरोनाको प्रमुख केन्द्रविन्दु नरैनापुरको छिमेकी राप्तीसोनारीमा आइतबार मात्रै चार जना थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको बाँकेका १२९ स्वाब नमूना परीक्षण गर्दा चार जनाको कोरोना पुष्टि भएको हो । राप्तीसोनारी –५ का २३, २४, २३ र १६ वर्षीय पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आठ स्थानीय तह रहेको बाँकेमा हालसम्म नरैनापुर गाउँपालिकामा ११४, उपमहानगरपालिकामा २५, राप्तीसोनारीमा पाँच र खजुरा गाउँपालिकामा दुई गरी १४६ जनामा सङ्क्रमण देखिएको छ । हालसम्म भारतबाट आएका व्यक्ति र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण देखा परेको छ । कोरोनाको अतिसङ्क्रमित क्षेत्र नरैनापुर गाउँपालिकामा सङ्क्रमण न्यूनीकरणको लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

बाँसगढीका सङ्क्रमित भारतबाट

राजापुर –बर्दियाको बाँसगढी नगरपालिकाका कोरोना सङ्क्रमण देखिएका व्यक्ति भारतबाट आएर क्वारेन्टिनमा बसेको खुल्न आएको छ । बाँसगढी– ९ का २५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

यही जेठ २ गते नेपाल आएका उनलाई अहिले थप उपचारका लागि कता लैजाने भन्ने विषयमा छलफल भइरहेको नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले बताए ।

यसअघि बर्दियामा राजापुरकी ११ वर्षीया बालिकामा, गुलरिया नगरपालिका ११ घर भई काठमाडौँमा रहेका एक व्यक्ति र बढैयाताल गाउँपालिका –७ का १९ वर्षीय पुरुषमा कोरोना संङ्क्रमण देखिएको थियो ।

अर्घाखाँचीमा आउने बढ्दै

अर्घाखाँची– भारत तथा छिमेकी जिल्लाबाट अर्घाखाँचीमा आउनेको सङ्ख्या एक हजार ३८९ पुगेको छ । रोजगारीका सिलसिलामा भारत गएका नागरिकमा कोरोनाको उच्च जोखिम भएसंँगै उनीहरु धमाधम गृह जिल्ला फर्किन थालेका छन् । भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै आइतबार एकै दिन ५८७ जना जिल्ला भित्रिएका हुन् ।

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७०, भूमिकास्थान नगरपालिकाका ३३६, शीतगंगा नगरपालिकाका ४४३, पाणिनी गाउँपालिकाका८८, मालारानी गाउँपालिकाका २६० र छत्रदेव गाउँपालिकामा ९२ गरी एक हजार ३८९ जिल्ला जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो जिल्लाका छ स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा एक हजार ३८९ छन् ।
स्थानीय तहमै आइसोलेशन सेन्टर

चन्द्रौटा– कपिलवस्तुमा कोरोना संक्रमितकोे संख्या दिन प्रतिदिन बढ्दो छ । जिल्लामा शनिवबार बिहानसम्म ७७ जनामा कोरोना पुष्टि भएको छ । शुरुआती दिनमा भारतबाट नेपाल प्रवेश गरेका नागरिकमा कोरोना देखिए पनि पछिल्लो समयमा स्वास्थ्य, सुरक्षाकर्मी र सञ्चारकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण बढेपछि जिल्लामा रहेका स्थानीय तहहरुले आफैँ आइसोलेशन सेन्टर स्थापना गरी संक्रमितको उपचार गर्ने तयारी थालेका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ को पर्शोहीमा रहेको आयुर्वेदिक औषधालयको भवनमा २५ शय्या क्षमताको आइसोलेशन तयार पारी सञ्चालनमा ल्याइएको छ ।

उक्त सेन्टरमा गत बुधबार पुष्टि भएका पालिकाभित्रैका तीन संक्रमितलाई राखिएको छ । आइसुलेशनमा रहेका संक्रमितको स्वास्थ्य निगरानीका लागी निरन्तर दुईदुईस्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा एक सहयोगी कर्मचारी खटाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ अधिकारीले बताए ।

त्यस्तै शिवराज नगरपालिकाले पनि चन्द्रौटामा कोरंोना पुष्टि भएकाहरूको उपचारका लागि १५ दिनमा ३० शय्याको अस्पताल निर्माण गर्ने लक्ष्यानुसार निर्माण शुरु गरेको छ । गत शनिबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा ५ नं का प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीका अध्यक्षतामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रतिनिधिको सहभागितामा भएको निर्णयानुसार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि अस्पताल बनाउने समिति गठन गरेको हो ।

भारतीय सीमासंँग नजिक रहेको शिवराज नगरपालिकामा पनि कोरोना संक्रमित देखिएपछि चन्द्रौटामा नै अस्पताल निर्माण गर्नु पर्नेअवस्था आएको प्रदेशसभा सदस्य अर्जुन केसीले बताउनुभयो । व्यापार संघ कपिलवस्तुका अध्यक्ष तथा अस्पताल निर्माण समिति संयोजक महादेव पोखरेलले १५ दिनमा ३० शय्याको भवन निर्माण गर्न गरी दुई सिफ्टमा काम गरिएको बताए।

त्यस्तै महाराजगञ्ज नगरपालिकाले पनि नगरभित्र भेटिएका कोरोना संक्रमितलाई वडा नं १ मा रहेको जानकी माविमा आइसोलेशन निर्माण गरेको छ । नगरमा भेटिएका नौ संक्रमितलाई राखिएको नगर प्रमुख अब्दुल कलाम खाँले बताए ।

कोरोनाका उच्च जोखिम रहेको कपिलवस्तुको तौलिहवामा रहेको साविक महिला विकासको कार्यालय, मायादेवी गाउँपालिका १ मा नैना अस्पताल, वडा नं ३ मा रहेको पुलिका स्वास्थ्यचौकी र विजयनगर गाउँपालिका वडा नं ७ को आयुर्वेदिक अस्पताललाई कोरोना संक्रमित उपचार अस्पतालका रूपमा विकास गरिएको छ ।

भारतबाट आउने बढ्दै

नारायणपुर– भारतबाट दाङ भित्रिने दिनदिनै बढेका छन् । बिहीबार मात्रै ३५० जना क्वारेन्टिनमा बसेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । सरकारले भारतबाट नेपाल फर्कन चाहनेलाई ल्याउन थालेपछि यहाँ सङ्ख्या बढेको हो । जिल्लाका क्वारेन्टिनमा ५७९ जना छन् । तीमध्ये ६२ महिला छन् । क्वारेन्टिनमा बसेकामध्ये ९० प्रतिशत मानिस भारतबाट फर्किएका रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापन सहायक विनायक पौडेलले जानकारी दिए ।

क्वारेन्टिनमा बस्ने बढ्न थालेपछि थप गर्ने तयारी शुरु भएको छ । दाङमा ५७ क्वारेन्टिनमा दुई हजार एक शय्या क्षमता छ । तीन हजार शय्या पु¥याउने योजनाका साथ अहिले काम भइरहेको पौडेलले बताए । अहिलेसम्म क्वारेन्टिनमा १७४ महिला र एक हजार १०७ पुरुष बसेका छन् । बन्दाबन्दीपछि ७०२ जना क्वारेन्टिनमा बसेर घर फर्किसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *