बीएम फाउन्डेशनद्धारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
स्याङ्जा, २९ बैशाख । कोरोना विरुद्धको अभियानका लागि बीएम फाउन्डेशनले चापाकोट नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । फाउन्डेशनले पीपीई, के एन ९५ मास्क, सर्जिकल मास्क र ह्याण्ड सेनिटाइजर लगायतका सामग्री उपलव्ध गराएको हो ।
यी सामग्रीहरु बिरामीहरुको सेवामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई दिइने छ ।
गत शनिबार चापाकोटमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले नगरप्रमुख शिवकुमार गिरीलाई २५ थान पीपीई, एक हजार थान सर्जिकल मास्क तथा ह्याण्ड स्यानिटाइजर हस्तान्तरण गरे ।
दीर्घ रोगका बृद्धबृद्धालाई घर घरमै औषधि
फाउन्डेशनले नगरपालिका भित्र रहेका उच्च रक्तचापका दीर्घरोगी बृद्धबृद्धाको पहिचान गरी घर घरमै निशुल्क औषधि वितरण गरेको छ । अध्यक्ष डा श्रेष्ठले लकडाउनको बेलामा बृद्धबृद्धा स्वास्थ्य संस्था सम्म जान अफ्टेरो हुने भएकोले घर घरमै पुगेर औषधि वितरण गरेको बताए ।
राहत कोषमा नगद सहयोग
यसैबीच फाउन्डेशनले चापाकोट नगरपालिका बाहेक कालिगण्डकी गाँउपालिका र गल्याङ नगरपालिकाको राहत कोषमा समेत २५ २५ हजार रुपैयाँको दरले सहयोग गरेको छ । यस्तै गण्डकी प्रदेश सरकारको राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको समेत डा श्रेष्ठले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]