दश दिनपछि सञ्चालनमा आयो भरतपुर कोभिड–१९ प्रयोगशाला


चितवन, २८ वैशाख । कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो ।

कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौँडा र काठमाडौँ पठाइँदै आएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिलेको किटले एक हजार ३०० भन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ ।

एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १०० थान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो ।

यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पिसीआर परीक्षणका लागि नमूना सङ्कलन हुने गरेको छ । विगतका दिनहरुजस्तै नमूना सङ्कलन भएमा एक महिनालाई किट पुग्ने पौडेलले बताए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किट आएसँगै नमूना परीक्षणको समस्या हटेको बताए । यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ ।

जान चाहाने भारतीयलाई घर फर्काइँदै

भारत घर भइ हाल नेपालमा रहेर भारत जान चाहने भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय चितवनले घर पठाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर चितवन जिल्लाभित्र रहेका घर जान चाहने भारतीयलाई परिचयपत्रसहित नाम टिपाउन आग्रह गरेको छ ।

भारत जान चाहनेले आफ्नो देशको परिचयपत्रको नम्बरसहित मोबाइल नम्बर, भारतको ठेगाना, हाल चितवनमा बसेको ठेगाना र नेपालको कुन नाकाबाट पार गर्नुपर्ने हो ती सबै विवरण खुलाएर आज दिनको ३ बजेसम्म प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ । भारत फर्कन चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालय चितवनको इमेल daochitwan1@gmail.com वा मोबाइल नम्बर ९८५५०१७७७७, ९८५११५९५१४,९८४१०४३६३४ र ९८४५३३१०३६ मा म्यासेज गर्न सकिने सूचनामा उल्लेख गरेको छ । जिल्लामा भारत घर भएका नागरिकको सङ्ख्या के–कति छ र कति जान चाहन्छन् भन्ने वास्तविक तथ्याङ्क स्थानीय प्रशासनसँग नभएकाले सार्वजनिक आह्वान गरिएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *