दोस्रो पटक कोरोना संक्रमणमा परेका दुई जनाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

वीरगञ्ज, २७ बैशाख । कोरोनामुक्त भएको एक साता पछि पुन संक्रमणमा परेका एक भारतीय सहित दुई जना व्यक्तिको तेस्रो पटक गरिएको कोभिड –  १९ रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु दुबै अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले उनीहरुको तेस्रो रिपोर्ट शुक्रबार बेलुका आएको र त्यो पोजेटिभ भएको बताए ।

तीन पटक लगातार रिपोर्ट नेगेटिभ आएपछि गत १४ बैशाखमा डिस्चार्ज भएका रौतहटका १९ बर्षीय र वीरगञ्जमा रहेका एक जना भारतीय पुरुषहरुको १८ बैशाखमा जाँच गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो ।

त्यस लगत्तै उनीहरुलाई पुन अस्पतालको आइसोलेसनमा राखिएको छ । त्यस यता उनीहरुको दुईपटक स्वाव लिएर परीक्षण गरेको थियो । तर दुबै रिपोर्ट पोजेटिभ आएको हो ।

चितवनको महिलामा पाँचौ पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ

यता भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ पौडेलले भने ।

यही वैशाख ३ गते ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा उनी र उहाँका २७ वर्षीय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीसंगै कोरोना पोजेटिभ देखिएका छोराको पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि अस्पतालले घर पठाएको छ । उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङहुँदै चैत ५ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए । यस्तै वैशाख २६ गते र आजका गरी ४६ नमूनाको अहिले भरतपुर कोभिड– १९ प्रयोगशालामा परीक्षण भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *