जोखिमभत्ता पाउनुहुन्छ ढुक्कले काम गर्नुस् : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौँ, २६ बैशाख ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको अभियानमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलव्ध हुने बताएका छन् । उनले कोरोना नियन्त्रण गर्ने अभियानमा सक्रिय ढंगले काम गर्न सबै स्वास्थ्यकर्मी समक्ष आग्रह गरेका छन् ।

सरकारले हालै जारी गरेको जोखिम भत्ता सम्वन्धी आदेशमा देखिएको अस्पष्टताका बारेमा नेकपा सम्बद्ध ट्रेड युनियनहरु राष्टिय स्वास्थ्यकर्मी संघ, प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ र निजामती कर्मचारी संगठनका पदाधिकारीहरु सहितको टोली शुक्रबार स्वास्थ्य मन्त्री ढकालको ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका थिए ।

सो अवसरमा कुरा गर्दै मन्त्री ढकालले भने, ‘कोरोना विरुद्धको मुख्य सिपाही तपाईँ ( स्वास्थ्यकर्मी) हुनुहुन्छ । कोही अग्रपंक्तिमा रहेर काम गर्नु भएको छ । कोहीले पछाडीबाट सहयोग गर्नु भएको छ । त्यसैले जिम्मेवारी अनुसार सबैले जोखिम भत्ता पाउनुहुन्छ । ढुक्क हुनुस र महामारी विरुद्धको अभियानमा काम गर्नुहोस् ।’

संघका अध्यक्ष भक्तिमान सुब्बाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री ढकाल र राज्यमन्त्री नवराज रावतको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा राज्यमन्त्री रावतले पनि सरकार स्वास्थ्यकर्मीको मनोवल उच्च पारेरै महामारीविरुद्धको अभियानमा उत्रिएको बताए ।

स्वास्थ्यकर्मीहरुले अहिलेको जोखिम भत्ता सम्वन्धी आदेशले आइसोलेसन, क्वारेन्टाइन, प्रयोगशाला बाहिर रहेर उपचार तथा रोग नियन्त्रण कार्यमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई अन्याय गरेको बताउँदै आएका छन् ।

उनीहरुले अन्य सेवा समूहका कर्मचारीलाई विदाको सुविधा उपलव्ध गराएको तर स्वास्थ्य समूहका कर्मचारीहरुले यो बेलामा पनि आफ्नो स्वास्थ्य संस्थामार्फत सेवा गरिरहेको अवस्थामा सुविधाबाट बन्चित गराई अन्याय गर्न खोजेको बताएका थिए । संघका अध्यक्ष सुब्बाले जोखिम भत्ता सम्वन्धी आदेशका बारेमा गहन छलफल भएको र मन्त्री आफूहरुको मागका विषयमा निकै सकारात्मक भएको बताए । उनले भने, ‘ढुक्कले काम गर्नुस् भत्ताको चिन्ता नगर्नुस् भन्नु भयो ।’

यसैबीच आजै राष्टिय स्वास्थ्य कर्मी संघले आजै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई भेटी जोखिम भत्ताको विषयमा ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले अहिलेको अवस्थामा सबै स्वास्थ्यकर्मीहरु कोरोना महामारीविरुद्ध खटिएको भन्दै सबैलाई जोखिम भत्ता उपलव्ध गराउन माग गरेका छन् ।

सो अवसरमा बोल्दै महानिर्देशक श्रेष्ठले महामारीको बेलामा स्वास्थ्यकर्मीको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै सरकारले जोखिम भत्ता सबैलाई उपलव्ध गराउने बताए । उनले सेवाको कदर गर्न सरकार पछि नहटने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *