कालीगण्डकी गाउँपालिकालाई गाउँ सेवा परिवारद्धारा स्वास्थ्य सामग्री सहयोग

स्याङ्जा, २१ बैशाख ।  कालीगण्डकी गाउँपालिकाका सरकारी अस्पताल तथा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । गाउँ सेवा परिवार विर्घा, स्याङ्गजाले पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सक तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि आइतबार पीपीई हस्तान्तरण गरेको हो ।

२० थान पीपीई, थर्मोगन, सर्जिकल मास्क, सेनिटाइजर लगायत दीर्घरोगी बिरामीका लागि औषधी समेत उपलब्ध गराइएको गाउँ सेवा परिवारका महासचिव संचारकर्मी राजेन्द्र प्रसाद पाण्डेले जानकारी गराए । केन्द्रमै बसेर गाउँको विकासमा आफ्ना गतिविधि अघि बढाउदै आएको परिवारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि उपलब्ध स्वास्थ्य सामग्री त्यसैको निरन्तरता भएको महासचिव पाण्डेले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पाण्डेले चिकित्सक तथा एम्बुलेन्स चालक प्रत्यक्ष बिरामीसंग सम्पर्कमा आउने हुनाले उनीहरु सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि प्रभावकारी नहुने हुँदा पीपीई लगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए ।

‘गाउँ सेवा परिवारले कोरोना सङ्क्रमणको जोखिम अन्त्य नहुँदासम्म चरणबद्ध रुपमा आवश्यकताअनुसार स्वास्थ्य सामग्री आउदा दिनमा पनि उपलब्ध गराउदछ । अहिलेको जटिल अवस्थामा उपलब्ध सामाग्रीहरुको सहि प्रयोग होस् र लक्षित वर्गसम्म पुगोस् भन्ने परिवारको चाहना हो’, पाण्डेले बताए ।

पीपीई बुझेपछि कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले अहिलेको समयमा चिकित्सक तथा रातदिन खटिने एम्बुलेन्सका चालकका लागि पीपीई महत्वपूर्ण भएको बताउदै महामारीको समयमा गाउँ सेवा परिवारले गाउँमै आएर पीपीई लगायत औषधी अत्यावश्यक उपलब्ध गराएकोमा धन्यवाद समेत दिए ।

गत चैत्र १ मा गाउँ सेवा परिवारले कालीगण्डकी गाउँपालिकाको चण्डीभन्ज्याङमा १ दिने निशुल्क शिविर संचालन गर्नुको साथै विर्घा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण समेत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *