कोरोना भाइरसको परीक्षण आजबाट चितवनमा पनि शुरु हुँदै

कैलालीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना भाइरस (कोभिड १९) प्रयोगशालामा स्वाब परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : मीन ठकुरी

चितवन २२ चैत । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा आजबाट कोरोना भाइरस (कोभिड -१९)को परीक्षण हुने भएको छ । पीसीआर मेसिनबाट परीक्षणको काम शुरु गर्न लागिएको हो ।

यसअघि गत बुधबार स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालानै उपयुक्त भएको जनाएको थियो ।

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर शुक्रबार बिहानबाट काम थालिएको हो । मन्त्रालयबाट आएको टोलीका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार आजैबाट काम थालिएको छ ।

पिसिआर ल्याब रामपुरबाट ल्याइँदै छ । बायोसेफ्टी क्याबिनेट एउटा यही छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ । विज्ञ दुई जना जिल्लामा नै रहेको उनले जानकारी दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ । उनीहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यही उपलब्ध हुने बताइएको छ । मन्त्रालयले किट, रिएजेन्ट, आवश्यक रसायनसहितका अन्य सामान आजै पठाउने खनालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अस्थायी अस्पतालसमेत स्थापना भइसकेपछि परीक्षणसमेत यही गर्न गरिएको गृहकार्यअनुरुप काम भइरहेको जानकारी दिइन । अहिलेको सङ्क्रमण कालमा यहाँ ल्याब स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा सञ्चालनका लागि केही महिनामा नै भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने उनले बताइन ।

भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा रहेको छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । दैनिक गाडीको प्रयोग गरेर पठाउनुपर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आएपछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले जानकारी दिइन ।

रजिष्ट्रार खनालका अनुसार भरतपुरसँगै प्रयोगशालाको सङ्ख्या ११ पुगेको छ । सात प्रदेशमा एक÷एक वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीरअस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *