छैटौँ संक्रमित बेल्जियमबाट आएकी ६५ बर्षीया बृद्धा, पाँचौ र छैटौंको सीट संगसंगै थियो
काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड१९)बाट संक्रमित छैटौँ महिला पनि बेल्जियमबाट कतार हुँदै नेपाल आएको खुलेको छ । उनी पाँचौँ संक्रमित १७ बर्षीया किशोरीको हजुर आमा पर्ने हुन् । उनीहरुको बेल्जियमबाट कतार, कतारबाट काठमाडौँ र काठमाडौँबाट पोखरासम्मको उडानमा सिट संगै रहेको बताइएको छ ।
पाँचौं संक्रमित किशोरी अंशु सापकोटाले केही दिन अघि न्युज २४ टेलिभिजन आफ्नो परिचय सार्वजनिक गर्दै आफूसंग एक जना हजुरआमा संगै आएको बताएकी थिइन । उनै हजुरआमालाई अहिले कोभिड -१९ पोजेटिभ देखिएको हो ।
बागलुङ नगरपालिका – ३ गौडाकोट निवासी ती महिलामा कुनै लक्षण देखिएको छैन् । हेर्दा पनि स्वस्थ छिन् । संगै आएकी किशोरी अंशुलाई कोरोना पोजेटिभ देखिएपछि मात्रै उनी घरमै क्वारेन्टाइनमा रहेकी थिइन । ‘अब उहाँलाई पनि ल्याउने तयारी भएको छ,’ बागलुङ अञ्चल अस्पतालका डाक्टर प्रदीप श्रेष्ठले भने ।
उनले ४ चैतमा कतार एयरबाट आएको एक यात्रुमा कोरोना पोजेटिभ देखिएपछि ट्रयासिङ गर्ने क्रममा बाग्लुङमा पनि केही व्यक्ति भएको पाइएको र एक जना किशोरीमा पोजेटिभ देखिएपछि थप अन्यको पनि ट्रयासिङ गरेको बताए ।
उनले पाँचौ संक्रमित बाग्लुङको भएको पत्ता लागेपछि उनीसंग नजिक भएकाहरुको खोजी गरी १० जनाको नमूना पठाएको, त्यसमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी चार जनामध्ये १ जनाको पोजेटिभ देखिएको बताए । अरु तीन जनाको रिपोर्टको जानकारी आइनसकेको समेत बताए ।
सम्पर्क इमेल : [email protected]