‘मुटुको धड्कन नछुटोस्’

स्क्रिनमा घण्टौँ, व्यायाममा शून्य : युवाको मुटुमा बढ्दो जोखिम

0
Shares

काठमाडौं, १४ असोज । मोबाइल र सामाजिक सञ्जालको स्क्रिनमा घण्टौँ बिताउने तर शारीरिक गतिविधिमा समय नदिने बदलिँदो जीवनशैली मुटु स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको चिकित्सकहरूले बताएका छन्।

अस्वस्थ खानपान, व्यायामको कमी, धूमपान, मदिरा सेवन र मानसिक तनावसँगै बढ्दो ‘स्क्रिन टाइम’ले युवापुस्तामै मुटुसम्बन्धी जोखिम बढाइरहेको उनीहरूको भनाइ छ।

विश्व मुटु दिवस २०२६ को अवसरमा नेपाल एनसीडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा मंगलबार भएको विशेष कार्यक्रममा चिकित्सक तथा स्वास्थ्य क्षेत्रका अगुवाहरूले मुटु रोगबाट बच्न उपचारभन्दा रोकथाम, नियमित परीक्षण र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

यस वर्षको विश्व मुटु दिवसको नारा ‘Don’t Miss a Beat’ अर्थात् ‘मुटुलाई धड्किन दिऔँ’ लाई केन्द्रमा राखिएको कार्यक्रममा रोटरी क्लब अफ पाटनका अध्यक्ष रोटेरियन शिव पी खेम्का र नेपाल एनसीडी एलायन्सका अध्यक्ष रोटेरियन डा. प्रकाशराज रेग्मीले संयुक्त रुपमा अध्यक्षता गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर रोटेरियन विष्णुबहादुर कार्की थिए । उनले मुटुको आकारका बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

त्यसअघि नै साउथ इस्ट एसिया रिजनल एनसीडी एलायन्सका अध्यक्ष एवं नेपाल एनसीडी एलायन्सका उपाध्यक्ष डा. अभिनव वैद्यले सहभागीमाझ स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा एलायन्सका अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ  डा. रेग्मीले ‘What’s New on Heart Health ?’ विषयमा प्रस्तुति दिँदै विश्व मुटु दिवसको अभियान, मुटु स्वास्थ्यका नयाँ विषय तथा स्वस्थ जीवनशैलीको महत्वबारे बताएका थिए । उनले विश्व स्वास्थ्य संगठनले सन् २००० देखि मुटु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभिन्न नारासहित विश्व मुटु दिवस मनाउँदै आएको जानकारी दिए ।

कार्यक्रममा कार्डियाक सोसाइटी अफ नेपालका अध्यक्ष तथा नेपाल हार्ट नेटका संयोजक डा चन्द्रमणि अधिकारी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अवनीभूषण उपाध्याय तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा। भगवान कोइरालालगायतले मुटु स्वास्थ्यका विभिन्न पक्षमा प्रस्तुति तथा धारणा राखेका थिए ।

उनीहरूले नेपालमा मुटु रोगको अवस्था, उपचारमा भइरहेको प्रगति र पछिल्लो समय विकसित कम चिरफारबाट गरिने उपचार प्रविधिबारे जानकारी दिँदै मुटु रोगलाई केवल उपचारको विषय नभई जनस्वास्थ्यको विषयका रूपमा लिनुपर्नेमा जोड दिएका थिए ।

विश्वभर हरेक वर्ष करिब २ करोड ५ लाख मानिसको मृत्यु, नेपालमा जान्छ ३० हजार बढीको ज्यान

नसर्ने रोगको सूचीमा अग्रस्थानमा रहेको मुटु रोग तथा स्ट्रोक विश्वकै प्रमुख मृत्युका कारक पनि हुन् । यिनै रोगबाट विश्वमा हरेक वर्ष करिब २ करोड ५ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि हरेक वर्ष करिब ३० हजार मानिसले मुटु रोग तथा स्ट्रोकका कारण ज्यान गुमाउने  गरेको  मंगलबारको प्रस्तुतिमा दिईयो ।

विज्ञहरुले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा यस्ता मृत्युको ठूलो हिस्सा हुने भए पनि जोखिमयुक्त जीवनशैली परिवर्तन, समयमै रोग पहिचान र सही ठाउँमा उपचार गर्न सके यसलाई घटाउन सकिने धारणा राखे ।

‘स्क्रिन टाइम’ घटाऊ, मुटु बचाऊ’

 

मंगलबारको कार्यक्रममा युवापुस्ताको अहिलेको  जीवनशैली विशेष चर्चामा रह्यो। युवापुस्ता डिजिटल दुनियामा बढी रमाउने गरेको बताइएको थियो ।

दैनिक सात घण्टा वा सोभन्दा बढी समय मोबाइल, कम्प्युटर तथा अन्य स्क्रिनमा बिताउने, खेलकुद तथा शारीरिक गतिविधिमा कम समय दिने, अस्वस्थ खाना खाने र मानसिक तनाव बढ्ने प्रवृत्तिले दीर्घकालीन स्वास्थ्यमा असर पारिरहेको भन्दै चिकित्सक बक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुले असामान्य थकान, हल्का श्वास फेर्न गाह्रो हुनेलगायतका संकेतलाई सामान्य ठानेर बेवास्ता नगर्न सुझाव दिए।

रक्तचाप, रक्तचिनी र कोलेस्ट्रोलको नियमित परीक्षण तथा दैनिक जीवनमा पर्याप्त हिँडडुल र व्यायाम गर्न पनि उनीहरूले आग्रह गरे।

बालबालिकाको मुटु बचाउन ‘End RHD’ कार्यक्रम 

कार्यक्रममा बालबालिकामा हुने बाथ मुटुरोग अर्थात र्‍युमेटिक हार्ट डिजिज (RHD) अर्को महत्वपूर्ण विषयका रूपमा उठेको थियो ।

समयमै पहिचान र उपचार गर्न सके पूर्ण रूपमा नियन्त्रण तथा निको पार्न सकिने भए पनि नेपालमा यस रोगका कारण हरेक वर्ष एक हजारभन्दा बढी मानिसको मृत्यु हुने जानकारी दिइएको थियो ।

त्यसो त नेपाल हृदयरोग निवारण प्रतिष्ठानले अघि बढाइरहेको ‘End RHD’ अभियानमार्फत रोकथाम, स्क्रिनिङ र उपचारलाई तीव्रता दिइएको छ।

अभियानअन्तर्गत हालसम्म दुई करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको र तीन करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ।

यस अभियानले  सन् २०३० सम्म बालबालिकामा हुने बाथ मुटुरोगको समस्या  ५० प्रतिशतले घटाउने तथा १० लाख बालबालिकाको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ।

अभियानका लागि डोनेसन

यसैबीच सोही कार्यक्रममा ‘End RHD’ अभियानलाई सहयोग गर्ने क्रममा  पद्मोदय भेटेरान्स क्लबले रु. १ लाख ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा  हस्तान्तरण गरेको थियो । यस्तै  रोटरी क्लब अफ महाबौद्धका अध्यक्षले रेजेन्ट स्कुल अफ धापाखेलका तर्फबाट रु. १ लाख ११ हजार १११ सहयोग हस्तान्तरण गरे । यसैगरी  शिवाजी राय यादवले रु. १ लाख १ हजार तथा रोटेरियन शिव पी र प्रीति खेम्काले रु. २५ हजार सहयोग गरेका थिए ।

सोही क्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर कार्कीले बाथ मुटुरोग कार्यक्रमका लागि रोटरी क्लबहरूलाई ५ हजार अमेरिकी डलरसम्मको म्याचिङ फन्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल हार्ट नेट, हार्ट क्लब नेपाल, पद्मोदय भेटेरान्स क्लब, रोटरी तथा रोट्र्याक्ट क्लबहरू, इनर ह्विल, सञ्चारकर्मी, सन फर्मास्युटिकल इन्डस्ट्रिज लिमिटेडका प्रतिनिधि तथा रोटरी क्लब अफ पाटनका सदस्य र परिवारजनको सहभागिता थियो।

रोटरी क्लब अफ पाटनकी उपाध्यक्ष रोटेरियन ललिता थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वास्थ्य सचेतना, नियमित परीक्षण र समयमै उपचारसँगै समुदाय र नीति निर्माण तहबाट मुटु स्वास्थ्यका लागि थप पहल आवश्यक रहेकोमा जोड दिइएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *