स्क्रब टाइपसको अवस्था बुझ्न काठमाडौँबाट खटिएको टोली सल्यानमा

64
Shares

काठमाडौँ, १५ असोज । स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि अवस्था बुझ्न छ सदस्यीय विज्ञ टोली सल्यान पुगेको छ । सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एनटिडी तथा कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख समेत रहेका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गोकर्ण दाहाल, इडीसीडीकै डिजिज सर्भिलेन्स एण्ड रिसर्च शाखाका प्रमुख समेत रहेका बरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेको नेतृत्वमा तीन सदस्यीय टोली र प्रदेशतहबाट अरु तीन जना स्वास्थ्य प्राविधिक समेत गरी कुल छ जना सल्यान पुगेका हुन् । उनीहरु अहिले बढी प्रभावित गाउँपालिका दार्मा जाँदैछन् ।

पाण्डेका अनुसार आज विहान साढे १० बजे सम्मको तथ्यांक अनुसार पछिल्लो एक महिनामा जिल्लाभर सक्रिय केश १८४ जना रहेको छ । त्यसमा दार्मा गाउँपालिकामा मात्रै १०३ जना र सिद्ध कुमाख गाउँपालिकामा ५९ जना रहेका छन् । अरु पालिकामा थोरै थोरै केश देखा परेका छन् ।

पाण्डेले जिल्लामा अहिलेसम्म स्क्रब टाइपस देखा परेका ३ जनाको मृत्यु भएको बताए । तर मृतकहरु अरु दीर्घ रोगबाट समेत ग्रसित भएकोले स्क्रब टाइपसले नै ज्यान लियो कि अरु कारण पनि थियो भनेर अहिल्यै एकिन गर्न नसकिएको उनले बताए ।

टोलीले ‘जिल्लाका विभिन्न स्थानमा संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलनुको कारणबारे थप अध्ययन तथा विश्लेषण गर्ने बताइएको छ ।

 

फैलिएको संक्रमण
संक्रमण अहिले फैलिएर सल्यानका सात पालिकामा पुगेको छ । जसमा दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डे छन् । यी पालिकाहरूमा ज्वरोका बिरामी बढेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी किटबाट स्क्रब टाइफस परीक्षण गरिएको हो ।

स्वास्थ्यकर्मीहरूले घाँसपात, दाउरा र कृषि कामका क्रममा किर्नोको टोकाइबाट जोगिन शरीर पूरै ढाक्ने कपडा, पञ्जा र घुँडासम्म छोपिने जुत्ता लगाउन आग्रह गर्दै आएका छन् । घर वरिपरिका झाडी तथा बुट्यान सफा राख्नसमेत आग्रह गरिएको छ ।

तर ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर नागरिकको दैनिक काम नै जंगल, झाडी र घाँसपातसँग जोडिएकाले सावधानी अपनाउन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

देशभर २७१८ जनामा संक्रमण सबैभन्दा बढी लुम्बिनीमा
पाण्डेका अनुसार पछिल्लो समय सल्यानमा सबैभन्दा बढी स्क्रब टाइपसको संक्रमण देखिएको भए पनि यो संक्रमण अरु जिल्लामा पनि देखिएको छ ।

पछिल्लो एक महिनामा देशभर २ हजार ७१८ जना स्क्रब टाइपसको संक्रमणमा छन् । त्यसमध्ये लुम्बिनीमा सबैभन्दा बढी ६९७ जना रहेका छन् ।

सुदूरपश्चिममा दोस्रो बढी ६५१ जनामा देखिएको छ । सबैभन्दा कम भने मधेश प्रदेशमा देखिएको उनले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *