नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. भट्टाचार्यको निधन
काठमाडौँ, १५ असोज । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ। ९१ वर्ष पुगेका डा. भट्टाचार्यको आज विहान निधन भएको हो ।
डा भट्टाचार्य विसं १९९२ सालमा धनुषाको एकराहीमा जन्मिएका थिए ।
उनले प्रारम्भिक शिक्षा घरमै लिएपछि उनी थप अध्ययनका लागि भारतको दरभंगा पुगे। नर्थब्रुक स्कुलबाट म्याट्रिकुलेसन र रामकृष्ण मिसन विद्यापीठबाट इन्टरमिडिएट अध्ययन गरेका थिए । लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट विसं २०१४ सालमा एमबीबीएस गरेका उनले ले नेपाल फर्किएपछि वीर अस्पतालबाट सेवा सुरु गरेका थिए । पछि शल्य चिकित्सामा विशेषज्ञता हासिल गरेका उनी नेपालका अग्रज सर्जनका रूपमा परिचित थिए ।
नेपाली चिकित्सा क्षेत्रमा लामो समय योगदान दिएका उनले वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), नेपाल मेडिकल काउन्सिलको विकासमा ठूलो योगदान गरेको नेपाल चिकित्सक संघले जनाएको छ ।
यसैबीच संघले आज एक शोक बक्तव्य जारी गर्दै आफ्ना पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. भट्टाचार्यको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । उसले मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



