‘५०,००० स्माइल्स नेपाल’ अभियानमा जोडियो सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप

0
Shares


काठमाडौँ, १४ असोज । नेपालका ग्रामीण तथा शहरी क्षेत्रका विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यमा सुधार गर्ने योजनाको साथ अघि बढाइएको ‘५०,००० स्माइल्स नेपाल’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको छ ।

गत १ जुलाई देखि सुरु भएको यो अभियानको अगुवाई रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ (नेपाल-भुटान) च्याप्टरले गरेको छ ।
यद्धपी रोटरीको डिजिज प्रिभेन्सन एण्ड ट्रिटमेन्ट कमिटीले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर (केडीसी) र बीएम फाउण्डेसनसंग सहकार्य गरेर अभियानलाई अघि बढाइएको हो ।

अहिले अभियानको कार्यान्वयन तथा समन्वय पक्षलाई फाउण्डेशनले अघि बढाइरहँदा प्राविधिक सहयोग केडीसीले गरेको छ । यहि अभियानमा सोसाइटी अफ नेपालीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको हो ।

बुधबार केडीसीमा आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र एसएनएचपीईका उपाध्यक्ष डा सागर धितालले सहकार्य सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । सो समझदारी पत्रमा ‘५०, ००० स्माइल्स’ अभियान बाहेक स्वास्थ्य, शिक्षा, व्यावसायिक विकास, अनुसन्धान तथा ज्ञान आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्ने भनिएको छ ।

हस्ताक्षर समारोहमा बोल्दै फाउण्डेसनका अध्यक्ष डा. श्रेष्ठले विद्यालय तहका बालबालिकाको मुख स्वास्थ्य सुधार गर्ने उद्देश्यले ‘५०,००० स्माइल्स नेपाल’ अभियान सञ्चालन गरिरहँदा एसएनएचपीईसंगको सहकार्यले अभियान थप उचाईमा पुग्ने बताए ।

यता एसएनएचपीईका उपाध्यक्ष डा. धितालले बालबालिकाको मुस्कान फर्काउने अभियानमा जोडिन पाएको भन्दै खुशी व्यक्त गरे । उनले मातृभूमी हुने यस्ता सामाजिक कार्यमा युरोपमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी तथा मनकारी नेपालीहरुको सधै साथ रहने उल्लेख गरे ।

समझदारी पत्र आदानप्रदान भइरहँदा भर्च्युअल माध्यमबाट एसएनएचपीईका अध्यक्ष डा. विनयकुमार श्रेष्ठ स्वीजरल्याण्ड तथा एसोसिएट प्रोफेसर डा. कौशल के तिवारी इटालीबाट समारोहमा सहभागी थिए ।

त्यसैगरी, नेपालमा एसएनएचपीइका फोकल पर्सन तथा होटल एसोसिएसन अफ नेपाल, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल पनि समारोहमा उपस्थित थिए ।

यो अभियानमा के हुन्छ ?

गत १ जुलाई २०२६ देखि सुरु भएको यस अभियान ३१ जुन २०२७ सम्म चल्नेछ ।

यस अवधी भित्र स्वास्थ्यकर्मीहरुले सातवटै प्रदेशका २५० बढी विद्यालयमो पुगेर मुख स्वास्थ्य परीक्षण, तथा मुख स्वास्थ्य प्रवर्द्धन गर्दै ५० हजार बालबालिकाको ‘स्वस्थ मुस्कान’ सुनिश्चित गर्नेछन् ।

यसैगरी अभियान अन्तर्गत विद्यालयमै पुगेर मुख परीक्षण, सही तरिकाले दाँत माझ्ने अभ्यास, मुख रोगको रोकथाम केन्द्रित हस्तक्षेप, आवश्यक परे उपचारका लागि रिफरल तथा समुदायमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरिने छ । शिक्षकलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धी तालीम दिईने छ ।

फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले यस अभियानमा १ हजारभन्दा बढी शिक्षक, २५० भन्दा बढी विद्यालय तथा ५०० भन्दा बढी स्वयंसेवकलाई पनि समेटिने छ ।

उनले यसबाट विद्यालयबाट समुदायसम्म मुख तथा दन्त स्वास्थ्यको सचेतना बढ्ने र मुख तथा दन्त स्वास्थ्य नीतिका लागि समेत सहयोग हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *