पोर्चुगलमा कोरोनाभाइरसबाट एक जना नेपाली सङ्क्रमित, ७४ जना क्वारेन्टाइनमा
- भगवान गिरी
लिस्वान । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ ।
फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् ।
नेपालीमा कोरोना भएको पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।
फारोका प्रमुखका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना सङ्क्रमित नेपालीसहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो ।
कोरोना सङ्क्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन ।
नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई सङ्क्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताए । उनले सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध पनि गरे । उनका अनुसार कोरोना सङ्क्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ । कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ ।
फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन तथा र सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गर्नुभएको छ । पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड –१९ बाट सङ्क्रमित भएको बताइएको छ । रासस
सम्पर्क इमेल : [email protected]