शिक्षण अस्पतालले भन्यो, ‘प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा’

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज जारी गरेको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । डा खड्गाका अनुसार अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ ।

प्रत्यारोपण टोलीमा १५ देखि २० जना चिकित्सक

प्रधानमन्त्री ओलीको बुधबार (भोलि) हुने दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्ने अस्पतालका निर्देशक डा खड्गाले बताए ।

यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वस्थ्यस्थितिबारे जानकारी

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थतिबाट जानकारी लिएका छन् । आज साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि बुधबारबाट शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

नेपाली डाक्टरलाई विश्वास गरेको भन्दै चिकित्सक संघ खुशी

यता डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघले प्रधानमन्त्री ओलीको भोलि हुन लागेको मिर्गौला प्रत्यारोपण सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तीमा नेपाली चिकित्सकबाटै आफ्नो उपचार गराएर प्रधानमन्त्रीले नेपाली चिकित्सक प्रति विश्वास गरेको प्रति उच्च सम्मान छ भन्दै अन्य उच्च ओहोदामा बस्ने व्यक्तिले समेत यस कार्यको अनुसरण गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *