‘सम्वन्धन प्रक्रिया अघि बढाइयोस्’ भन्दै बीएण्डसीद्धारा चिकित्सा शिक्षा आयोगमा निवेदन दर्ता

काठमाडौँ, २ फागुन । झापामा रहेको प्रस्तावित बीएण्डसी मेडिकल कलेजले सम्वन्धन प्रक्रिया अघि बढाउन चिकित्सा शिक्षा आयोगमा निवेदन दिएको छ । प्रस्तावित मेडिकल कलेजको तर्फबाट विहीबार निवेदन दर्ता गराइएको हो ।

अढाई महिना अघि निवेदन दर्ताकै विषयमा आयोग उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी र बीएण्डसीका सञ्चालकबीच विवाद उत्पन्न भएको थियो । सो विवाद स्थानीय प्रशासन र अदालतसम्म पुगेको थियो । तर विहीबार भने सहज रुपमा निवेदन दर्ता भएको प्रसाईँले बताए । आयोग उपाध्यक्ष प्राडा गिरीले पनि निवेदन दर्ता भएको पुष्टी गरे ।

‘१५ मंसिरमा यहि निवेदन लिएर दर्ता गराउन जाँदा दर्ता गर्नै मानिएन । त्यसबेला के के भयो भन्ने कुरा त यहाँहरुलाई थाह नै छ । तर यसपटक भने सोही निवेदन दर्ता भएको छ । अब त सम्बन्धन प्रक्रिया पनि अघि बढ्ला नि ?’ प्रतिप्रश्न गर्दै प्रसाईँले भने ।

आयोग उपाध्यक्ष प्राडा गिरीले पनि निवेदन दर्ता भएको तर खोलेर हेरिनसकेको बताए । ‘दर्ता त भएको छ । तर मेरो व्यस्तताले त्यो खोलेर हेर्न पाएको छैन् । निवेदनमा के के छन् । त्यसपछि मात्रै यो अघि बढ्ने नबढ्ने भन्न सक्छु,’ उनले भने ।

चिकित्सा शिक्षा विधेयकमा आशयपत्र लिएर बसेका उपत्यका बाहिरको प्रस्तावित मेडिकल कलेजहरुले सम्बन्धन पाउने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा ऐनमै राजधानीबाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख छ। उपत्यका बाहिर आशयपत्र पाएर सम्बन्धन कुरिरहेको झापाको बीएण्डसी एक नम्बर प्रदेशको एउटै मात्र मेडिकल कलेज हो।

प्रसाईँले यसअघि आयोग उपाध्यक्ष प्राडा गिरी विरुद्ध २० करोड घुस मागेको आरोप लगाएका थिए । ‘सम्वन्धनको प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन लिएर दर्ता गर्न बेलुका भेटुम भन्नुभयो । बेलुका होटल द्धारिकामा भेटदा २० करोड घुस माग्नु भो,’ अघिल्लो महिना पत्रकार सम्मेलनमा प्रसाईँले भनेका थिए । त्यस लगत्तै आयोग उपाध्यक्ष प्राडा गिरीले प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका थिए। त्यसपछि प्रसाईँ सम्पर्क विहीन बनेका थिए ।

प्रहरीको खोजी सूचीमा रहेका प्रसाईँ बिहीबार भक्तपुर जिल्ला प्रशासनमा पुगेर हाजिर भएका थिए । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहीबार नै प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकी थिइन्। त्यस लगत्तै उनले आयोग पुगेर निवेदन दर्ता गराएको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *