चीनमा कोरोनाको नयाँ संक्रमण एकै दिन दश गुणाले बढ्यो, मृत्यु हुनेको संख्या अढाई गुणा बृद्धि

बेइजिङ । चीनको हुवे प्रान्तमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर एकै दिन १० गुणाले बृद्धि भएको छ । मृत्यु दर पनि झण्डै अढाई गुणाले बढेको छ । विहीबार विहान चिनिया अधिकारीहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार बुधबारमात्रै हुवेमा १४ हजार ८४० जनामा नयाँ संक्रमण देखिएको छ ।

जो अघिल्लो दिनको तुलनामा झण्डै १० गुणा बढी हो । यस्तै सो प्रान्तमा बुधबार मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २४२ पुगेको छ । जो अघिल्ला दिनको तुलनामा दोब्बर भन्दा बढी हो । अघिल्लो दिन नयाँ संक्रमण १ हजार ६३८ र मृत्युको संख्या ९४ मात्रै थियो ।

हुवे प्रान्तको स्वास्थ्य आयोगका अनुसार बुधबारसम्म सो प्रान्तमा ४८ हजार २०६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । यस्तै मृत्यु हुनेको संख्या सो प्रान्तमा मात्रै १ हजार ३१० पुगेको छ ।

चीन बाहिरको समेत संख्या गणना गर्ने हो भने कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ६३ पुगेको छ । मृत्यु हुनेको संख्या १ हजार ३६३ पुगेको छ । अहिलेसम्म ५ हजार ६८० जना अस्पतालमा उपचार पछि निको भएर घर फर्केको आयोगले जनाएको छ ।

संक्रमण र मृत्युको संख्या ह्वात्तै बढेपछि प्रान्तीय स्वास्थ्य आयोगले भनेको छ, नयाँ संक्रमित केशहरुको पत्ता लगाउने र पुष्टि गर्ने विधिमा पनि परिवर्तन गरिएको छ । अब कुन विरामी संक्रमित हो भनेर जानकारी दिन चिकित्सकहरुलाई आफ्नो विवेक प्रयोग गर्न भनिएको छ ।

डिसेम्बर ३१, २०१९ मा चीनको हुवे प्रान्तस्थित वुहान शहरमा पहिलो केश देखिएको यो भाइरसले यतिवेला चीन सहित सारा विश्वलाई त्राहिमाम बनाएको छ । विश्व स्वास्थ्य संगठनले अहिले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *