रोग निगरानी प्रणालीलाई व्यवस्थित गर्न स्थानीय तहका आरआरटीलाई ट्यावलेट वितरण गर्दै सरकार
काठमाडौँ, १२ असोज । रोग निगरानी प्रणालीलाई व्यवस्थित गर्न विश्व स्वास्थ्य संगठनले थप तीन वटा स्थानीय तहमा वितरण गर्न ३५४ वटा ट्यावलेट हस्तान्तरण गरेको छ । पाण्डमिक फण्डको रकमबाट खरिद गरिएका ट्यावलेटहरु विभागलाई हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सेवा विभागमा सोमबार आयोजित कार्यक्रममा डब्लुएचओ नेपालका निमित्त प्रतिनिधि डा एलिसन गोकोटानोले विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेललाई सो ट्यावलेट हस्तान्तरण गरेका हुन् ।
ती ट्यावलेट मधेश, लुम्बिनी र कर्णाली प्रदेशका स्थानीय तहका रेपिड रेस्पोन्स टीम (आरआरटी) का फोकल पर्सनले प्रयोग गर्ने छन् । यसअघि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका स्थानीय तहका आरआरटीलाई सो ट्यावलेट उपलव्ध गराईसकिएको थियो ।
विभागका निमित्त महानिर्देशक डा. पौडेलले रोग निगरानी प्रणालीलाई चुस्त राख्नका लागि स्थानीय तह र केन्द्रबीच सहज सूचना आदानप्रदानका लागि ट्यावलेट उपयोगी हुने भएपछि उपलव्ध गराइएको बताए ।
ट्यावलेटमा सोरमास अर्थात सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एण्ड एनालाइसिस सिस्टम राखिएको छ ।

जुनसुकै रोग आउटव्रेक हुनासाथ स्थानीय तहमा क्रियाशिल आरआरटीका प्रतिनिधिले सो ट्यावलेट मार्फत छिटो सूचना प्रवाह गर्ने बताइएको छ । जसले गर्दा समयमै सूचना अपडेट पनि हुन्छ र त्यसलाई नियन्त्रणका लागि आवश्यक सहजीकरणको काम पनि छिटो हुने विश्वास लिइएको छ ।
‘विगतमा इन्डिकेटर वेसमा रोग निगरानी गर्ने गरेका थियौँ । अर्लि वार्निङ रिपोर्टिङ सिस्टमलाई अलिकति मोडिफाइ गरेर यो नयाँ सिस्टम लागू गरेका हौँ,’ डा. पौडेलले अगाडी थपे, ‘कोभिड-१९ आइसकेपछि हामीले इभेन्ट वेसमा जनस्वास्थ्यका रिपोर्ट हुनुपर्छ भन्ने लाग्यो, सुरुमा यो सिस्टम सुदूरपश्चिम र गण्डकी प्रदेशबाट लागू भयो अब चाहि देश भरी यसको कार्यान्वयन हुने भयो ।’
पाण्डमिक फण्डमा नेपालले १८ मिलियन डलर रकम प्राप्त गरेको छ । त्यसबाट मुख्य तीनवटा कार्यहरु गर्ने भनिएको छ ।
ती कामहरुमा जनस्वास्थ्यलाई प्रभाव पार्ने रोगहरुबारे जनशक्तिलाई तालीम दिने, उनीहरुको व्यवस्थापन गर्ने र प्रयोगशालाको विकास गर्ने रहेको छ ।
त्यसैमध्ये रोग निगरानी प्रणालीलाई विकास गर्न यो ट्यावलेट खरीद गरी वितरण गरिएको हो ।
पाण्डमिक फण्डमा रकम नेपालले पाए पनि त्यसको सञ्चालन युएन एजेन्सीमार्फत हुने गर्दछ । सोही अन्तर्गत डब्लुएचओले सो सामान उपलव्ध गराएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



