चीनबाट नेपाली ल्याउन कम्तिमा एक साता लाग्ने ?

काठमाडौँ, २३ माघ । चीनबाट नेपाली ल्याउन अझै कम्तिमा ७ दिन लाग्ने भएको छ ।  चीनबाट नेपाली ल्याउने विषयमा हिजो बसेको उच्चस्तरीय बैठकमा मन्त्रिपरिषदले आजै निर्णय गरेपनि त्यसको सम्पूर्ण व्यवस्थापन मिलाएर नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन कम्तिमा सात दिन लाग्ने निस्कर्ष निकालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हिजो दिउसो १ बजे देखि बेलुका ८ बजेसम्म मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा रक्षा, गृह, स्वास्थ्य, पर्यटन, शहरीविकास, परराष्ट लगायतका मन्त्रालयका सचिव तथा सहसचिवहरुको उपस्थिति थियो । बैठकमा सुरक्षा अंगका चारवटै निकायका प्रमुखहरुको सहभागीता थियो ।

‘१८० जनाको उद्धार गर्नुपर्ने छ । त्यसका लागि नेपाल बायुसेवा निगमको वाइडबडी जहाज (२७४ सिटे एयरबस) नै लैजानुपर्ने छ । तर त्यसको चार्टर गरी सेड्युल मिलाउन कम्तिमा ३ दिन लाग्नेछ । यता ठाँउ कहाँ राख्ने ? कसरी ल्याउने ? बेड, खाना, पोशाक लगायतका सबै व्यवस्थापन गर्न अर्को तीन दिन लाग्न सक्छ । र जहाज जानु परयो ल्याउनु परयो । त्यसैले कम्तिमा सात दिन लाग्छ,’ बैठकमा सहभागी सदस्यले मुख्य व्यवस्थापनको जिम्मा लिएको सेनाको भनाइलाई उदृत गर्दै जानकारी दिए ।

‘सेनाले त भनेको छ, यो निकै गम्भीर कुरा हो । त्यसैले हतारमा काम गर्दैन् । यो पनि युद्धमा जाने जस्तै तयारी गर्नुपर्छ । आजको मन्त्रिपरिषदले निर्णय गर्यो भने पनि उद्धार गरी ल्याइने सबैलाई राख्ने स्थान, त्यहाँ त्यति नै संख्यामा शैया, खानपिन, पोशाक लगायतका विषयमा सबै व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि कम्तिमा छ दिन त लाग्छ नै,’ बैठकमा सेनाले व्यक्त गरेको रायलाई उदृत गर्दै ती सदस्यले भने ।

उनका अनुसार हिजो बैठकमा चीनबाट १८० जनालाई कसरी ल्याउने ? ल्याएपछि कहाँ राख्ने ? कतिवटा एम्बुलेन्स प्रयोग गर्ने ? जहाज कहाँ पार्क गर्ने ? विभिन्न मन्त्रालयबीच कसरी समन्वय गर्ने आदी विषयमा विस्तृत छलफल भएको छ । त्यसको प्रस्तुतिकरण आज आज प्रधानमन्त्री सहित विभागीय मन्त्रीहरुलाई देखाउने कार्यक्रम छ । प्रधानमन्त्री त्यसमा सहमत भए आजै आकस्मिक बैठक बसी नेपालीहरुलाई ल्याउने निर्णय गर्नेछ । तर निर्णय गरेपनि तत्कालै चीनबाट उद्धार भने हुनेछैन् । तयारीमा केही समय लाग्नेछ । हिजोको बैठकको निर्णय सुनाउँदै ती सदस्यले भने ।

क्वारेन्टाइनमा १७ दिन राख्ने योजना
बुधबारको बैठकले चीनबाट उद्धार गरी ल्याउने १८० जना नेपालीलाई १७ दिनसम्म क्वारेन्टाइनमा राख्ने योजना अघि सारेको छ । १४ दिनसम्म राख्ने र १५ दिनमा परीक्षण गर्ने त्यसको रिपोर्ट आउन एक डेढ दिन लाग्छ । त्यसमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई घर जान दिने योजना अघि सारेको छ ।

जहाजबाट यसरी ल्याउने
बुधबारको बैठकले नेपालीको उद्धार गर्न नेपाल बायूसेवा निगमको २७४ सिटे एयरबस चीन पठाउने योजना अघि सारेको छ । त्यसमा क्रु मेम्बर बाहेक प्रोटेक्टिभ पोशाक लगाएका केही स्वास्थ्यकर्मीहरु पनि जानेछन् । जहाजको पछाडीको भागमा केही सिट आइसोलेसन जस्तो बनाइनेछ ।

यात्राका क्रममा कोही विरामी भइहाल्यो भने जहाजको पछाडीको भागमा रहेको त्यहि सिटमा राखेर उपचार गरिन्छ । जहाजका क्रु मेम्बरलाई चीनबाट फकर्नेहरुसंग सकेसम्म सम्पर्क हुन दिइनेछैन । यद्धपी उनीहरु पनि सुरक्षित पोशाक लगाएरै जानेछन् । करीब सात घण्टा लामो उडानका क्रममा चाहिने खाना तथा पानी लगायतका बस्तुहरु हरेकको सिटमा पहिले नै राखिने योजना बनाइएको छ ।

नेपाल अवतरण गरिसकेपछि पार्क गर्ने स्थान पनि छुट्टै हुनेछ । आएका १८० जना नेपालीको त्यहाँ परीक्षण हुनेछ । विरामीहरुलाई छुट्टै बाटो एम्वुलेन्समा अस्पताल लगिन्छ । अन्यलाई सुरक्षित साधनमार्फत राख्ने स्थानमा लगिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *