नेपाल चिकित्सक संघको निर्वाचन : मतदान सम्पन्न, ६२ प्रतिशत भोट खस्यो

  • मतगणना बुधबार विहान ८ बजे देखि शुरु गर्ने
  • - नेपाली हेल्थ

    काठमाडौँ, २१ माघ । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ ७९ कार्यकाल) का लागि भएको निर्वाचनमा कुल ६ हजार १५२ भोट खसेको छ । यो भोट कुल सदस्य संख्याको ६२.२५ प्रतिशत हो । यसपटक भोट दिनका लागि योग्य चिकित्सकको संख्या ९ हजार ८८३ थियो ।

    निर्वाचन यसपटक पनि दुई चरणमा गरियो । उपत्यका बाहिर गत ४ र ५ माघमा गरियो भने उपत्यकामा गत १७ देखि २१ माघ (पाँच दिन) अर्थात आजसम्म ।

    उपत्यका बाहिर कुल १६ वटा मतदान केन्द्रमा २ हजार ८५० भोट खसेको थियो । उपत्यका भित्र पाँच दिनसम्म भएको मतदानमा ३ हजार ३०२ भोट खस्यो ।

    प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले बुधबार विहान ८ बजे देखि मतगणना कार्य शुरु हुने बताए । ‘आज मुचुल्का गरेर छाडने र भोलि विहानबाट मतगणना गर्ने भन्ने निर्णय भएको छ,’ मरासिनीले भने ।

    निर्वाचनमा यसपटक नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह र डा. पुष्पमणि खरालले नेतृत्व गरेको पेशागत समावेशी समूह मुख्य प्रतिस्पर्धामा छन्।

    वरिष्ठ उपाध्यक्षका लागि डा रक्षा श्रेष्ठ र डा शिव प्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्। रक्षा पेशागत समावेसी समूहबाट उम्मेद्धार हुन् भने शिब लोकतान्त्रिक समूहबाट । यस्तै उपाध्यक्षमा डा रन्जितकुमार झा र डा अनिलबिक्रम कार्की प्रतिस्पर्धामा छन् । झा पेशागत समूहका हुन् भने डा कार्की लोकतान्त्रिक समूहबाट उम्मेद्धार बनेका हुन् ।

    महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। डा मधुर बस्नेत पेशागत समावेसी समूहबाट डा बद्री रिजाल लोकतान्त्रिक समूहबाट डा दीपेन्द्र पाण्डे र डा अजयकुमार मिश्र स्वतन्त्र उम्मेद्धारका रुपमा प्रतिस्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र डा सञ्जित कुमार साह मैदानमा छन्।

    यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट डा शैलेन्द्र झा चुनावी मैदानमा छन्। सहकोषाध्यक्षमा डा विश्वराज दवाडी र डा उदयनारायण सिंह मैदानमा छन् । दवाडी लोकतान्त्रिक र सिंह समावेशी समूहका हुन्।

    समावेशी समूहबाट सदस्यहरुमा डा दीपक प्रसाद कोइराला, डा जगदीशचन्द्र विष्ट, डा लिजन महर्जन, डा राकेश कुमार साह, डा सुमन काफ्ले र डा त्रिभुवन चन्द्र झा रहेका छन्।

    यस्तै लोकतान्त्रिक समूहबाट क्रमश डा विक्रान्त ढकाल, डा विपेश आचार्य, डा नन्दकुमारी गुरुङ, डा प्रमोद जोशी, डा रितेश थापा र डा सञ्जिव तिवारी रहेका छन्। यसैगरी डा अमित चतुर्वेदी र डा प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

    मंगलबार अन्तिम दिन पनि  मतदान केन्द्रमा दुबै समूहका उम्मेद्धार र तिनका समर्थकहरु मतदानका लागि आएका चिकित्सकसंघ भोटमाग्ने प्रतिस्पर्धामा देखिन्थे। गेटमै दुई लाइन भएर बसेका उम्मेद्धारहरुले मतदाता अर्थात भोट हाल्न आएका चिकित्सकहरुलाई आफू र आफ्नो प्यानललाई मत हाल्न आग्रह गरेका थिए ।

    मतदान केन्द्र बाहिर भने उम्मेद्धार र प्यानल समर्थकहरुले आफ्ना पक्षका चिकित्सकलाई भोट हाल्न आउनु भन्दै मोवाइलबाट आग्रह गरिरहेका थिए ।


    Facebook Comment


    थप समाचार