कोरोना भाइरसको परीक्षण अब नेपालमै गर्ने तयारी

काठमाडौँ, ११ माघ । सरकारले नयाँ कोरोना भाइरसको परीक्षण अब नेपालमै सम्भव तुल्याउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी साता भित्रमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यसको परीक्षण गर्ने व्यवस्था मिलाउने बताएको हो ।

अहिले नेपालमा शंकास्पद देखिएका विरामीको भाइरस परीक्षणका लागि हंङकंङ पठाउने गरिएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नयाँ कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्ट ल्याउने तयारी भएको बताए । ‘हामीले विश्व स्वास्थ्य संगठनको सहयोगमा अब नयाँ कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्ट मगाउने तयारीमा छौँ,’ उनले भने, ‘बढीमा एक साता भित्र त्यो आईपुग्नेछ र हामीले यो भाईरसको परीक्षण यही नै गर्नेछौँ ।’

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले मेसिन भएपनि परीक्षण गर्ने केमिकल –रिएजेन्ट नभएकोले टेकुमा अहिलेसम्म नयाँ कोरोना भाइरसको परीक्षण गर्न नसकिएको बताइन । ‘अब रिएजेन्ट आईसकेपछि त हामीले यहि नै गर्न सकिहाल्छौँ,’उनले भनिन् ।

केही साता अघि चीनमा अध्ययन गरेर फर्केका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टी भईसकेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले शंकास्पद केश भन्दै उनलाई थप उपचारका लागि टेकु रिफर गरेको थियो ।

उनले केही दिन त्यहाँ उपचार गरेपछि अहिले डिस्चार्ज भईसकेका छन् । तर उनको परीक्षण गर्दा उनलाई कोरोना भाइरस भएको पुष्टि भएको थियो । कोरानाको विगविगी बढदै जाँदा स्वास्थ्य मन्त्रालयले विमानस्थल हेल्थ डेस्कलाई समेत सुविधा सम्पन्न बनाएको छ ।

यात्रुहरुको जाँचका लागि आजैबाट विमानस्थलमा थर्मल स्क्यानर समेत सञ्चालनमा आएको छ ।

डिसेम्बर ३१ मा पहिलो पटक नयाँ कोरोना भाइरस देखिएको चीनमा सो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ।त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *