डेंगुको महामारी : ७० हजारलाई संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, २२ भदौ । पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आकलन छ ।

ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् । ‘यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो, निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,’ ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले भने, ‘हाम्रै तथ्यांकलाई आधार मान्ने हो भने पनि डेंगुका बिरामी करिब ७० हजार हुनुपर्छ ।’ सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । यो रोगले ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप दुई जनाको मृत्यु डेंगुले भएको हो होइन प्रमाणीकरणको प्रक्रियामा छ ।

डा. शाहका अनुसार डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ । बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । ईडीसीडीले डेंगु रोग निदानका लागि र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) को सट्टा रगतमा ह्वाइट ब्लड सेल तथा प्लेटेलेट गणना र हेमाटोक्रिट परीक्षण गरी रोग निदान र व्यवस्थापन गराउन अनुरोध गरेको छ ।

ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख शाहका अनुसार आरडीटी किटको विभिन्न जिल्लाबाट अत्यधिक माग भइरहेको अवस्थामा हाल स्वास्थ्य सेवा विभागबाट आरडीटी किटको सट्टा बिरामीहरूको रगत परीक्षण गरी रोग निदान गर्न भनिएको छ । आरडीटी किटको प्रयोगले डेंगु पोजेटिभ वा नेगेटिभ देखिए पनि उपचारको प्रोटोकलमा कुनै फरक नपर्नेसमेत डा. शाह बताउँछन् ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “डेंगुको महामारी : ७० हजारलाई संक्रमण, ४ जनाको मृत्यु

Leave a Reply to RN Chauhan Cancel reply

Your email address will not be published. Required fields are marked *