प्रधानमन्त्री ओलीको स्वास्थ्य: ‘सेकेन ओपिनियन’का लागि सिंगापुर जाँदै

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार सिंगापुर जाने भएका छन् । एक साताका लागि जान लागेका उनले सिंगापुरमा सम्पूर्ण स्वास्थ्य परीक्षण सहित नेपालमा आफूले गराएको उपचारको बारेमा ‘सेकेन ओपिनियन’ लिने बताइएको छ ।

प्रधानमन्त्रीका चिकित्सक प्राडा दिव्या सिंह शाहले धपडीका कारण स्वास्थ्यमा सामान्य समस्या देखिने क्रम बढेकाले केही दिन आरामका लागि सिंगापुर जान लागेको बताइन । उनले त्यहाँ रहँदा विज्ञ डाक्टरसंग स्वास्थ्य जाँच गराउने बताइन ।

‘उहाँको उपचार यहाँ पनि गरिएकै छ । तर कहिलेकाँही ‘सेकेन ओपिनियन’ पनि लिनुपर्ने हुन्छ भनेर त्यहाँ पुन: जाँच गर्न खोजिएको हो,’ उनले भनिन् ।

शनिबार त्यसतर्फ जाने भनिएपनि कुन अस्पतालमा उनको परीक्षण गर्ने भन्ने विषयमा आफू जानकार नभएको उनले बताइन । यो काम परराष्ट्र मन्त्रालयले गर्दै होला । अहिल्यै मलाई थाह भएन ।

पछिल्लो समय मिर्गौला र मधुमेहको समस्या
प्रधानमन्त्री ओलीले अहिले पनि नियमित काम त गरिरहेका छन् तर उनमा मिर्गौला र मधुमेहको समस्या देखा परेको छ ।
‘गत शुक्रबार छाउनीस्थित सेनाको अस्पतालमा गएर किड्नी फङसन टेष्ट गर्दा क्रियाटिनिन् अलि बढ्ने क्रममा देखियो । उपचार त भइरहेको छ तर नर्मल अवस्था आइपुगेको छैन । अहिले पनि अपर लिमिट १.४ भएपनि उहाँमा थोरै बढी नै छ । अहिले पन िउहाँको अपरलिमिट २ बाट घटेको छैन,’ सचिवालय स्रोतले भन्यो ।

यस्तै मधुमेहमा पनि पछिल्लो समय घटबढ भइरहेको छ । तर अहिले घरमै त्यसको मोनिटर गर्ने डिभाइस भएकाले त्यो समस्या नियन्त्रणमा ल्याउन सहज हुने चिकित्सकको दावी छ । सुगरको जाँच गर्न अहिले हामीलाई धेरै नै सहज भएको छ ।

‘एउटा डिभाइस हुँदो रहेछ नघोचीकन सुगर लेभल पत्ता लगाउने त्यसबाट मोनिटरिङ भएको छ । केही फ्ल्च्योसन भएकै हो तर अव त्यो ठूलो समस्या नहोला,’ डा शाहले भनिन् ।

सेनाको अस्पतालमा किन लगियो ?
सधै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गएर स्वास्थ्य परीक्षण गराउने ओलीले यसपटक छाउनीस्थित नेपाली सेनाको अस्पताल पुगेर परीक्षण गराए । उनले त्यहाँ मधुमेह, मुटु मिर्गौलाको परीक्षण गराए ।

यसपटक किन सेनाको अस्पतालमा ? डा शाह भन्छिन्, ‘मनमोहनमा मुटुका विरामीको भिड आइसियूबाटै भिआईपी कक्षमा जानुपर्ने अवस्था । यसले अरु विरामीलाई समेत मर्का परिहेको थियो । त्यसैले मैले त्रिवि शिक्षण अस्पतालमा भने । ५०१ र ६०१ नम्बरको भिआईपी क्याविन आइतबारसम्मका लागि खाली रहेनछ । त्यसैले विकल्पको रुपमा सेनाको अस्पतालमा लगेको हो  ।उनले परीक्षणका लागि कतिपय स्वास्थ्यकर्मी शिक्षण अस्पतालबाट नै गएको समेत जानकारी दिइन ।

अघिल्लो साता तिलगंगा अस्पतालको कार्यक्रममा भाग लिएका प्रधानमन्त्रीले गत शनिबार गंगालाल अस्पतालको कार्यक्रममा सहभागिता जनाएका थिए । उनले त्यसबेला आफू आंशिक विरामी रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *