कंगोको गोमा शहरमा इबोला देखियो


गोमा, कंगो, ३० असार । प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । इबोला–पोजेटिभ देखिएका उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ । मन्त्रालयले गोमा शहरमा इबोलाको भाइरस फैलिने जोखिम निकै कम रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले हालै एक प्रतिवेदन जारी गरी कंगोमा इबोला फैलिने खतरा निकै बढेको भन्दै चिन्ता व्यक्त गरेको थियो । करिब एक वर्ष यतादेखि निकै फैलिन थालेको इबोलाबाट संक्रमित बिरामीको संख्या दुई हजार नाघेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

गत महिना छिमेकी मुलुक उगान्डामा इबोलाको संक्रमण तिब्र भएपछि जाम्बिया र तान्जानिया जस्ता छिमेकी मुलुकहरुले सीमामा बिरामीको जाँचलाई निकै कडा बनाएका थिए ।

सन् २०१४ र २०१६ मा लाइबेरिया, गिनी र सियरालियोनमा व्यापक रुपमा फैलिएको इबोलाबाट करिब ११ हजार ३०० जनाको मृत्यु भएको थियो ।   रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *