‘एएमआर नियन्त्रणका लागि बहुपक्षीय समन्वयको खाँचो’

0
Shares

काठमाडौँ, ३ मंसिर । प्रतिजैविक प्रतिरोध अर्थात एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) नियन्त्रणका लागि एक क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाहरुले सबै क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताहको पहिलो दिन स्वास्थ्य पत्रकार मञ्च नेपाल, ग्लोबल एएआर मिडिया अलायन्स, नेपाल च्याप्टर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहकार्यमा आयोजित एएमआर र मिडियाको भूमिका नामक कार्यक्रममा सहभागी वक्ताहरूले एएमआर साझा चुनौती भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।

सो अवसरमा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टीबायोटिक औषधिको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए। चिकित्सकको सल्लाहबिना एन्टीबायोटिक प्रयोग गर्ने तथा औषधिको जथाभावी प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले एएमआरको समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेको बताए। कृषि तथा पशुपालन क्षेत्रमा समेत एन्टीबायोटिक प्रयोग हुने भएकाले यसको उचित व्यवस्थापन र अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै पक्षले मिलेर काम गर्नुपर्ने उनले उल्लेख गरे।

यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले धेरै जनाको बानी अहिले पनि एन्टीबायोटिकको डोज पूरा नगर्ने, आफूखुशी एन्टीबायोटिक किनेर खाने रहेको भन्दै यो व्यवहार परिवर्तन नै पहिलो प्राथमिकतामा हुनपर्ने बताईन् । उनले व्यवहार परिवर्तनका लागि र नीतिगत के के कुरामा समस्या छन् भन्ने विषयमा मिडियाले पैरवी र निरगानी गर्नपर्नेमा जोड दिइन् ।

विश्व स्वास्थ्य संगठन नेपालका कार्यवाहक प्रमुख डा एलिसन गोकोटानोले एएमआरको जोखिम सबै व्यक्तिमा रहने उल्लेख गर्दै यसको प्रभाव कुनै एक व्यक्ति, समुदाय वा क्षेत्रसम्म सीमित नरहेको बताए । उनले एएमआर नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा ग्लोबल एएमआर मिडिया अलायन्स, नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरलाई सबैले साझा एजेन्डा बनाउनुपर्ने बताइन्। उनले एएमआरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न पत्रकारहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले एएमआर बहुपक्षीप सबाल भएको हुदा सबै मिलेर सचेतना बढाउन लाग्नुपर्ने वताए ।

छ जना पत्रकार सम्मानित

कार्यक्रमका अवसरमा एएमआरसम्बन्धी विषयमा उत्कृष्ट लेखन तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने पत्रकारलाई सम्मान तथा अवार्डसमेत प्रदान गरिएको थियो। यस वर्षको ‘एक्सीलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनमा कार्यरत पत्रकार सागर बुढाथोकीले प्राप्त गरे। उनले १५ हजार नगदसहित अवार्ड पाएका हुन् ।

यसैगरी स्पेशन मेन्सन अवार्ड पाउनेहरुमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सबिना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापा रहेका छन। उक्त अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरले प्रदान गरेको हो ।

कार्यक्रममा बरिष्ठ फार्माकोलोजिष्ट डा सतिशकुमार देव, विश्व स्वास्थ्य संगठन नेपालकी एएमआर फोकल पर्सन डा पल्पसा कंसाकार, एफएओ का लाइभस्टक एण्ड वान हेल्थ एड्भाइजर डा सुरेन्द्र कार्की स्वास्थ्य मन्त्रालयबाट शिवानी खड्गी तथा गामा नेपालबाट कल्पना आचार्यले आ-आफनो प्रस्तुती दिएका थिए ।

एन्टीमाइक्रोबियल औषधीहरुले पहिला मार्ने जीवाणु वा किटाणुलाई मार्न नसक्ने अवस्था सृजना हुनुलाई प्रतिजैविक प्रतिरोध अर्थात एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । यो समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेर पशु स्वास्थ्य, कृषि, वातावरण तथा खाद्यसँग पनि सम्बन्धित छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ब्याक्टेरियाजन्य एन्टीमाइक्रोबियल रेजिस्टेन्सकै कारण विश्वभर प्रत्येक वर्ष ४७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। यसको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचालिए सन् २०५० सम्ममा एएमआरका कारण यो संख्या बढेर ३ करोड ९० लाखसम्म मानिसको मृत्यु हुन सक्ने अनुमान छ। साथै, यसले विश्व अर्थतन्त्रमा वार्षिक अरबौं अमेरिकी डलर आर्थिक क्षति पुर्‍याउन सक्ने देखिएको छ। यसको प्रभाव विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा अझ बढी पर्ने जोखिम रहेको पनि देखिएको छ ।

स्मरण रहोस् हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने गरिन्छ । यस वर्षका नारा ‘एक स्वास्थ्य एक अभियान स् प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *