दीर्घकालीन स्वास्थ्य अवस्था व्यवस्थापनमा समुदायसँग सहकार्य गर्ने प्रतिबद्धतासहित कार्यक्रम शुभारम्भ

काठमाडौँ, ३ मंसिर । बहु दीर्घकालीन स्वास्थ्य अवस्थासम्बन्धी अनुसन्धान तथा स्वास्थ्य सेवा प्रवाहमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सामुदायिक सहभागिता तथा संलग्नता कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।
काठमाडौं मेडिकल कलेज र HRIDAY को संयुक्त आयोजनामा मंसिर २ गते आयोजित कार्यक्रममा NIHR Global Health Research Centre for Multiple Long-Term Conditions अन्तर्गत तयार पारिएका सामुदायिक सहभागितासम्बन्धी रणनीति, उपकरण तथा तालिम सामग्री सार्वजनिक गरियो।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका प्रतिनिधि, सामुदायिक च्याम्पियन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा नेपाल स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासक माधवकुमार श्रेष्ठलगायतको सहभागिता थियो।
कार्यक्रममा बहु दीर्घकालीन स्वास्थ्य अवस्थाको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनमा समुदायको भूमिका र स्वास्थ्य संस्था तथा समुदायबीचको सहकार्यबारे छलफल गरिएको थियो। साथै, समुदायका आवश्यकता र अनुभवलाई स्वास्थ्य अनुसन्धान तथा सेवा प्रवाहमा समेट्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा सामुदायिक च्याम्पियनको भूमिका र जिम्मेवारी, समुदायमा सञ्चालन गरिने गतिविधि तथा स्वास्थ्यकर्मीका लागि तयार पारिएका तालिम सामग्रीबारे जानकारी दिइयो। सामुदायिक च्याम्पियनमार्फत स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, स्वास्थ्य सेवामा पहुँच बढाउने र समुदायका समस्या तथा आवश्यकता स्वास्थ्य संस्थासम्म पुर्याउने लक्ष्य राखिएको छ।
आगामी दिनमा चन्द्रागिरी नगरपालिका र साँगला प्राथमिक स्वास्थ्य केन्द्रका क्षेत्रमा स्थानीय सरकार, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक च्याम्पियन तथा अन्य सरोकारवालासँगको समन्वयमा विभिन्न समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत स्वास्थ्य सचेतना, अन्तरक्रिया तथा दीर्घकालीन स्वास्थ्य अवस्था व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिने योजना छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले समुदायको स्वास्थ्य सुधारका लागि परियोजनासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले समुदायको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर सञ्चालन गरिने गतिविधिमा निरन्तर सहयोग र सहभागिता जनाउने बताए।
यस पहलले दीर्घकालीन स्वास्थ्य अवस्था भएका व्यक्ति, उनीहरूका परिवार, समुदाय र स्वास्थ्य सेवा प्रदायकबीचको सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, समुदायको आवाज, अनुभव र आवश्यकतालाई स्वास्थ्य अनुसन्धान तथा सेवा प्रवाहमा समेट्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


