अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा


वासिङ्टन, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन् ।

अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास छ ।

स्वास्थ्य तथा मानव संशाधन मन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मृगौलाको संख्या वृद्धि गर्ने रहेको जानकारी दिए ।

राष्ट्रपतिको आदेशमा घरमै बसीबसी डायलासिस सेवा वृद्धि गर्ने योजनामा नवीन प्रविधिको खोजी गर्नु पनि रहेको छ । मेडिकल सेन्टरमा उपचार गर्नुभन्दा घरमै कम खर्चिलो विधिबाट डायलासिस सेवा उपलब्ध गराउनु पनि राष्ट्रपतिको आदेशले जोड दिएको छ । राष्ट्रपति ट्रम्पले हाल करिब १२ प्रतिशतले मात्र घरमै डायलासिस सेवा लिइरहेको पनि जानकारी दिए ।

संयुक्तराज्य अमेरिकामा करिब तीन करोड ७० लाख मानिस मृगौला रोगबाट थलिएका छन् र त्यसमध्ये करिब सात लाख २६ हजार अन्तिम चरणको मृगौला रोगी रहेका छन् ।

करिब एक लाख अमेरिकीहरु मृगौला प्रत्यारोपणको पर्खाइमा रहेका र एक लाखभन्दा बढीले हरेक वर्ष डायलासिस सेवा आरम्भ गर्दछन् । अमेरिकी ह्वाइट हाउसको विवरण अनुसार डायलासिस सेवा शुरु गरेका आधाभन्दा बढीको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *