सबैभन्दा कम तौलमा जन्मेकी बालिका पाँच महिना पछि डिस्चार्ज
बीबीसी । सबैभन्दा कम तौलमा जन्मेर बाँच्न सफल भएको कीर्तिमान राखेकी एक बालिका पाँच महिनाको उमेरमा अस्पतालबाट घर पुगेकी छन्।
जन्मिँदा २४५ ग्राम तौल भएकी सेबी गर्भाधानको २३ हप्ता तीन दिनमा सन् २०१८ को डिसेम्बरमा जन्मेकी थिइन्। उक्त तौल एउटा ठूलो स्याउ बराबर हो।
क्यालिफोर्नियाको सान डियगोस्थित सार्प मारी बिर्च अस्पलातका चिकित्सकहरूले सेबीको अभिभावकलाई उनी केही घण्टा मात्रै बाँच्ने बताएका थिए।
तर पाँच महिनापछि मृत्युसँगको सङ्घर्षमा जितेकी उनी साढे दुई किलोको स्वस्थ बच्चाका रुपमा अस्पतालबाट डिस्चार्ज भएकी छन्।
सेबीलाई सेवा गरेकी एक नर्सले उनी बाँच्नु र घर फर्कनु चमत्कार भएको बताएकी छन्।
टाइनियस्ट बेबिज् रजिस्टीले सेबी बाँच्न सफल संसारकै सबैभन्दा सानो बच्चा भएकी बताएको छ।
यसअघि यो कीर्तिमान जर्मनीमा सन् २०१५ मा २५२ ग्रामको तौलमा जन्मेकी एक बालिकाको नाममा थियो।
यसै वर्ष जापानमा २६८ ग्रामको तौलमा जन्मेको बच्चा भने सबैभन्दा सानो तौलको बाँच्न सफल बालक मानिन्छ।
सेबीको आमा छ महिनाको गर्भवती हुँदा आपत्कालीन अप्रेशन गरेर बच्चा निकालिएको थियो। उनलाई रक्तचापसम्बन्धी समस्या देखिएको थियो जसले उनको र गर्भमा रहेको बच्चा दुवैको ज्यान खतरामा थियो।
अस्पतालले जारी गरेको भिडिओमा सेबीको आमाले उनको जन्म भएको दिन जीवनकै सबैभन्दा कहालीलाग्दो दिन भएको बताएकी छन्।
जन्मदा सेबी २४५ ग्राम तौल र नौ इञ्च लम्बाइकी थिइन्
बच्चाहरू प्रायः ३७ देखि ४२ हप्तामा जन्म लिन्छन् र चिकित्सकहरूले २८ हप्ताभन्दा अगाडि जन्मेका बच्चाहरू बाँच्ने सम्भावना लगभग शून्य हुने बताउँछन्।
सेबी यति सानो थिइन् कि चिकित्सक वा नर्सको हत्केलामा अट्थिइन्।
उनी बाँच्नुको कारण जन्मपछि कुनै पनि प्रकारको समस्या नदेखिनु भएको हुन सक्ने चिकित्सकहरूको अनुमान छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




