गोदानको माग कसरी सम्वोधन गर्ने भन्दै दुई मन्त्रालयका अधिकारीबीच छलफल

काठमाडौँ, २२ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव उपस्थित नभएपछि सरकारी चिकित्सकको मागका सम्वन्धमा मंगलबार राखिएको छलफलले गति लिन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पछि सामान्य प्रशासन मन्त्रालयले सरकारी चिकित्सक संघ नेपाल गोदानले उठाएको मागका सम्वन्धमा छलफल गर्न स्वास्थ्यका अधिकारीहरुलाई बोलाएको थियो । सोही अनुसार मन्त्रालयबाट सहसचिवहरु महेन्द्रप्रसाद श्रेष्ठ, जनार्दन गुरागाईँ, डा विकास देवकोटा लगायतको टोली सामान्य पुगेका थिए ।

‘करीब तीन घण्टा बसियो, सामान्य सचिव आउनु भएन, अर्को जरुरी बैठकमा जानु परयो रे । हामीले अनौपचारिक छलफल गरी फर्कियौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

अर्का सहसचिव गुरागाईँले गोदानले उठाएका मागका विषयमा मन्त्रालयको तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको बताए । ‘हुन त यो विषय संसदको भयो । त्यसमा पनि सरकारले केही गर्न मिल्छ कि ? मन्त्री ज्यूले समितिमा केही लैजान मिल्छ मिल्छ कि भनेर सामान्य रुपमा अनौपचारिक छलफल गरेका हौँ,’ उनले भने ।

समायोजनमा आफूहरुलाई संघ अन्तरगर्त राखिनुपर्छ भन्ने मुख्य माग राख्दै लगातार आन्दोलन गरेका सरकारी चिकित्सकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले माग पुरा हुने आश्वासन दिदै आन्दोलन रोक्न अनुरोध गरेका थिए । सोही अनुरोध पछि गोदानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *