अनसन तोडन आग्रह गर्दै माथेमा कार्यदलका पदाधिकारी शिक्षण अस्पतालमा
काठमाडौँ, १८ माघ । माथेमा कार्यदलका पदाधिकारीहरुले अनशन तोडन गरेको आग्रहलाई डा गोविन्द केसीले अस्विकार गरेका छन् । उनले अहिले पारित भएको विधेयक जनतामारा र विद्यार्थीमारा हो भन्दै कुनै हालतमा नमान्ने घोषणा गरेका छन् ।
त्यसअघि माथेमा कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमाले विधेयकले केही उपलव्धी हासिल भएको र बाँकीका लागि थप लड्नुपर्ने भन्दै अनशन तोडेर स्वस्थ हुन आग्रह गरेका थिए । जवाफमा डा केसीले टोली समक्ष आफूलाई त्यति बेवकुफ नसम्झन आग्रह गरेका थिए । उनले खड्गप्रसाद ओलीले जनतामारा र विद्यार्थी मारा विधेयक ल्याएको भन्दै आफ्नो सास रहुन्जेल त्यस विरुद्ध लडिराख्ने बताए ।
टोलीमा प्राडा भगवान कोइराला, प्राडा रमेशकान्त अधिकारी लगायतका सदस्यहरु सहभागि थिए ।
माथेमा टोली फर्किए लगत्तै नागरिक अगुवाको रुपमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की दमननाथ ढुंगाना भोजराज पोखरेल लगायतको टोली डा केसीलाई भेटन अनसनस्थल पुगेका थिए ।
उनीहरुले पनि अनशन तोडन डा केसीसंग आग्रह गरेका थिए । उनले बाँकी लडाईँका लागि आफूहरुको साथ रहेको भन्दै यसपटक आफूहरुको आग्रहलाई मानेर अनशन तोडन भनेका थिए । उनीहरुको आग्रहमा भने डा केसीले केही भनेनन् ।
चिकित्सा शिक्षा विधेयक संघीय संसदको दुबै सदनबाट पास भएपछि डा केसीले आफ्नो अनशनलाई निरन्तरता दिने बताएका थिए । सरकार पनि यथास्थितिमा डा केसीसंग बार्ता नगर्ने मुडमा देखिएको छ ।
सरकारले बार्ता नगर्ने र डा केसीको अनशन लम्बिदै जाँदा स्वास्थ्यमा समस्या पर्नसक्ने भन्दै नागरिक अगुवाहरु अनशन तोडाउन सक्रिय भएका हुन् । उनीहरु अहिले् पनि त्रिवि शिक्षण अस्पतालमा निकासका लागि छलफल गर्दै रहेको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]