शिक्षण अस्पतालको निर्देशकको नाम सिफारिस गर्न गठित ‘सर्च कमिटि’ असक्षम

काठमाडौँ, ७ भदौँ । त्रिवि शिक्षण अस्पतालको निर्देशक नाम सिफारिस गर्न तीन महिना अघि गठित सर्च कमिटि असक्षम भएको छ । कमिटिका संयोजक एवं चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालले नाम सिफारिस गर्न असक्षम रहेको भन्दै त्रिवि समक्ष जानकारी पत्र पठाएका छन् ।

शिक्षण अस्पतालको निर्देशक प्राडा दीपक महराको चार वर्षे कार्यकाल सकिएपछि नयाँ निर्देशकका लागि नाम सिफारिस गर्न भन्दै त्रिवि कार्यकारीले गत ८ जेठमा प्राडा अग्रवालको संंयोजकत्वमा सर्च कमिटि गठन गरेको थियो । उक्त कमिटिमा प्राडा जीवन शेरचन र सह प्राध्यापक डा रमेश सिंह भण्डारी सदस्य थिए ।

उक्त कमिटिले सम्भावित तीन जनाको नाम सिफारिस गरेपछि त्यसमध्ये एक जनालाई त्रिवि कार्यकारीले शिक्षण अस्पतालको निर्देशक छनौट गर्ने प्रक्रिया थियो । तर,  आइओएम भित्रको लफडाका कारण कमिटिले नाम सिफारिस गर्नुको सट्टा हामी असक्षम भयौँ भन्दै पत्र पठायो । ‘हो, हामीले सिफारिस गर्न सक्दैनौँ भन्दै हिजोको मितिमा पत्र गएको छ,’ कमिटिका एक जना सदस्य प्राडा शेरचनले भने ।

किन सकेन नाम सिफासिर गर्न ?
तीन महिना अघि गठन भएको समितिले एक होइन तीन जनाको नाम सिफारिस गर्नु पर्दथ्यो, तर सकेन । यसमा सर्च कमितिको असक्षमता स्पष्ट रुपमा देखियो । त्यसलाई मलजल गर्ने काम डा गोविन्द केसी र उनको समूहको क्रियाकलापले भयो भन्छन् जानकारहरु ।

चार बर्ष पूर्ण कार्यकाल रहेका, बरिष्ठ प्राध्यापक, कार्यकुशलता, अनुभव आदि मापदण्ड बनाई आवेदन मागेको मागेको कमिटिले उनीहरुसंग अन्तरवार्ता समेत लिएको थियो । त्यसका आधारमा पहिलो दोस्रो र तेस्रो स्थानमा नम्बर ल्याउनेलाई सिफारिस गर्ने गरी मापदण्ड बनाइएको थियो । तर सो मापदण्ड पुरा हुँदै गर्दा अपेक्षा गरिएको उम्मेद्धार नै सिफारिसमा नपर्ने सम्भावना देखिएपछि संयोजक रहेका डीन अग्रवालले समितिले नाम सिफारिस गर्न नसक्ने भन्दै चिठी पठाएको हो ।

केही दिन अघि मात्रै बरिष्ठताको आधारमा निर्देशक हुनुपर्ने दलका कार्यकर्ता भए नमान्ने भन्दै डा. केसीले विज्ञप्ती जारी गरेपछि सर्च कमिटि थप दवावमा थियो । डा केसीको समूहले आफू निकटका प्राडा वाइपी सिंह नै बरिष्ठतम व्यक्ति भएको भन्दै लविङ गरिरहेको थियो ।

डीन अग्रवाल समेत उनको पक्षमा खुलेर लागेका थिए । उनले एक नम्बरमा डा सिंहकै नाम सिफारिसमा हुनुपर्ने पक्षमा थिए । त्यसमा अरु दुई सदस्यहरु सहमत नभएपछि नाम सिफारिसमा लफडा परेको हो ।

को को पर्दै थिए ?
आवेदन भरेकामध्ये प्राडा वाइपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप बैद्य, प्राडा दिनेश विनोद पोखरेल आदि पाँचको नाम मापदण्ड अनुसार मिलेकोले कमिटिले उनीहरुसंग अन्तरवार्ता समेत लिएको थियो ।

सो अनुसार मार्किङ गर्दा प्राडा बैद्य, प्राडा लोहनी र प्राडा काफ्ले अगाडी आउने सम्भावना देखियो । अपेक्षा अनुसारको व्यक्ति सिफारिसमै नपर्ने भएपछि कमिटिबीच नै सहमति भएको थिएन । ‘पहिले मापदण्ड बनाउनु पर्छ भनियो पछि नतिजा अर्केै आउने भएपछि फेरी अर्को बखेडा झिक्न थालियो । त्यसले कुरा मिलेन,’ प्राडा शेरचनले भने ।

त्रिविको निमित्त निर्देशकको जिम्मेवारी समेत अहिले आइओएमकी सहायक डीन प्राध्यापक मन्दिरा वन्तले सम्हालेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “शिक्षण अस्पतालको निर्देशकको नाम सिफारिस गर्न गठित ‘सर्च कमिटि’ असक्षम

Leave a Reply

Your email address will not be published. Required fields are marked *