कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालन गर्न डा. गिरीको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ, ३ भदौँ । डा.गोविन्द केसीसंगको सम्झौँता बमोजिम सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका स्नातक तहका विद्यार्थी भर्ना गर्ने सम्वन्धामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त कार्यदल गठन गरेका हुन् ।

उक्त कार्यदलका सदस्यहरुमा विज्ञका तर्फबाट डा जीवन क्षेत्री, प्राडा केदार बराललाई नियुक्त गरिएको छ । डा क्षेत्री डा केसीका सहयोगी हुन् भने प्राडा बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवद्ध छन् ।

सो कार्यदलका अन्य सदस्यहरुमा कर्णाली प्रदेश सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि समेत रहनेछन् । ती संस्थाहरुलाई प्रतिनिधि छनौट गरी पठाउन लेखि पठाउने भनिएको छ ।

डा केसीको पछिल्लो अनसन तोड्ने क्रममा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका स्नातक तहको विद्यार्थी भर्ना गर्ने सम्वन्धमा संघीय सरकारको प्रतिनिध, कर्णाली सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि र विज्ञ समुहबाट २ जना रहेको कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

इलाम पाँचथर, डडेल्धुरा डोटी र उदयपुरमा मेडिकल कलेज खोल्न सुवेदीको संयोजकत्वमा ६ सदस्य कार्यदल
यस्तै केसीसंग गरिएको अर्को सम्झौँता अनुसार सरकारले इलाम पाँचथर , उदयपुर, डडेल्धुरा, डोटीमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिमा डा शैलेशमणि पोखरेल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, डा हरि लम्साल शिक्षा मन्त्रालय, डा शंकर भट्ट, उपप्राध्यापक सुदूर पश्चिम विश्वविद्यालय महेन्द्रनगर रहेका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव स्तरको एक जना सदस्य, नेपाल मेडिकल काउन्सिलको प्रतिनिधि समेत सदस्य रहेका छन् ।

डा केसीको अनसन तोड्ने क्रममा गत १० साउनमा भएको सम्झौँताको २ नम्बर बुँदामा पाँचथर इलाम, डडेल्धुरा डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने सम्वन्धमा यस अगाडी नक्सांकन भएका ठाँउहरुको सम्भाव्यता अध्ययन एक महिना भित्र प्रारम्भ गर्ने भन्ने उल्लेख थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *