बेनी अस्पतालको भवन निर्माणमा ढिलाइ


म्याग्दी, २१ वैशाख । बेनी अस्पतालको पचास श्यया क्षमताको आधुनिक सुविधासम्पन्न भवन निर्माण कार्य व्यवसायीको लापर्बाही र सम्बन्धित निकायको बेवास्ताका कारण सुस्त बनेको छ ।

दुई वर्षअघि क्षमता विस्तार भएको अस्पतालको गत मंसिरमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत नयाँ भवन निर्माण कार्य शुरु गरेको थियो । २०७३ मंसिर २१ गते ठेक्का सम्झौता गरेर एक वर्षपछि काम शुरु गरेको व्यवसायीले भुई तला ढलानको कामसमेत शुरु गरेका छैनन् ।

व्यवसायीको सुस्त कार्यशैलीका कारण लक्षित अवधिमै भवन निर्माण सम्पन्न गर्न चुनौती बढेको बेनी अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक डा रोशन न्यौपानेले बताए । भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा असर पर्ने उनको चिन्ता छ ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने चारतले भवन बनाउन महादेव खिम्ती ज्वाला रफीना जेभीले भ्याटसहित रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । सयौँ मजदूर आवश्यक पर्ने निर्माण कार्यमा दैनिक दशबाह्रजना कामदारले मात्र काम गरिरहेका छन् ।

२०७६ मंसिर २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपांगमैत्रीसमेत हुनेछ । म्याग्दीमा हालसम्म निर्माण भएका मध्य सबैभन्दा ठूलो र धेरै लागतको रहेको बेनी अस्पतालको भवन निर्माण कार्यलाई गुणस्तरीय रुपमा समयमै सम्पन्न गराउन व्यवसायीलाई ताकेता गरिएको डिभिजन कार्यालय प्रमुख प्रकाश अर्यालले बताए।

अस्पताल परिसरमा चार÷चार परिवार नर्स र डाक्टरको आवास भवन निर्माण कार्य भने आधाभन्दा बढी सकिएको छ । पुरानो भवन भत्काएर नयाँ निर्माण हुन लागेकाले अस्पतालले अस्थायी संरचनाबाट सेवा दिइरहेको छ । १५ श्यया क्षमताको अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *