नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

172
Shares

काठमाडौँ, २७ चैत । सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वोच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ ।

सो महाधिवेशनले आव २०७३/७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५/७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।

साथै महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत् तथा संकट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तीकरण, संगठन तथा क्षमता विकास, मानवीय सिद्धान्त तथा कूटनीतिसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

नेरेसोको सातौँ पञ्चवर्षीय योजनाले सामुदायिक उत्थानशीलताको लागि सबै पक्षको साझेदारी अवधारणालाई अघि बढाउने नीति अवलम्बन गरेको थियो । विशेष गरी विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पका समयमा खोज, उद्धार तथा राहत एवं त्यसपछि पुनःनिर्माणमा कार्यमा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले निजी आवास निर्माण, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य क्षेत्रमा समुदायलाई सहयोग गरिरहेको कार्यक्रमका संयोजक उमेश ढकालले जानकारी दिए ।

महाधिवेशनमा ७७ जिल्लाका रेडक्रसका जिल्ला सभापति सहित तीन–तीनजना प्रतिनिधि, केन्द्रीय कार्यसमिति र मनोनीत सभासद् गरी २७५ जनाप्रतिनिधिले भाग लिनेछन् । साथै जुनियर, युवाका साथै शिक्षक नायक सरकारी कार्यालयका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिको सहभागिता रहने छ नेरेसोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *