छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान

चन्द्रकला भण्डारी

 

काँकडभिट्टा, २४ चैत । मेचीनगर–६ का ८६ वर्षीय रुद्रप्रसाद पौडेलको शुक्रबार निधन भयो । तर उनको आँखाले भने अरु कैयन वर्षसम्म यो सुन्दर धरती हेरिरहन पाउने भएको छ ।

अज्ञात दृष्टिविहीनलाई नयाँ दृष्टि दिने उद्देश्यले झापामा पहिलोपटक मृतक रुद्रप्रसादको आँखाको कर्निया ९नानी० संकलन गरिएको हुँदा उनको आँखाले मरणोप्रान्त समेत संसार हेरिरहने सौभाग्य पाउने भएको हो ।

झापामा आँखा दान गरेका व्यक्तिको मरणोप्रान्त आँखाको नानी संकलन गर्ने कार्य शुरु भएको छ । दृष्टि गुमाएका कुनै व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गरिन्छ ।

झापामै यो नयाँ कार्यमा सहभागी बन्ने पहिलो सौभाग्य पाए रुद्रप्रसाद पौडेलले । दान गरिएको आँखाको नानी संकलन गर्ने पहिलो श्रेय पाएको छ–काँकरभिट्टाको मेची नेत्रालयले । पौडेलको शुक्रबार बिहान मृत्यु भएपश्चात उनका परिवारले काँकरभिट्टास्थित दुर्गाचन्द्र मेमोरियल ट्रस्टमा आँखाको नानी दान गर्न इच्छुक रहेको खबर पठाएका थिए ।

ट्रस्टले मेची नेत्रालयको प्राविधिक सहयोगमा दिवंगत पौडेलको आँखाको नानी सफलतापूर्वक संकलन गरेको ट्रस्टका अध्यक्ष तथा मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा शरदचन्द्र प्रकाश राईले जानकारी दिए।

मृत्यु भइसकेका आफ्ना बुबाको आँखाले अरु दृष्टिविहीनले संसार देख्नसक्ने कुरा बुझेर पौडेलका छोराछोरीले आँखाको नानी निकाल्न सहमति जनाएको मेची नेत्रालयका कर्मचारी तथा दुर्गाचन्द्र मेमोरियल ट्रस्टका सहसचिव जयप्रसाद पोख्रेलले बताए ।

परिवारका सदस्यको इच्छाअनुसार नै दाह संस्कारस्थल मेची खोलामा नै मृतक पौडेलको दुबै आँखाको बाहिरी भागको पातलो झिल्ली अर्थात नानी निकालिएको थियो । मेची नेत्रालयका आँखा बैंक प्राविधिक योगराज खत्री र मिलन खत्रीसहितको प्राविधिक टोलीले पौडेलको आँखाको नानी निकालेको थियो ।

मृतकको आँखाको नानीलाई विशेष प्रकारको रसायनमा राखेर महिनौं दिनसम्म सुरक्षित गर्न सकिन्छ । तर शनिबार पौडेलको आँखाको नानीलाई काठमाडाँैको तीलगंगा आँखा अस्पतालस्थित नेपाल आँखा बैंकमा पठाइने मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा राईले जानकारी दिए।

डा राईका अनुसार आँखासँगै मृतकको शरीरबाट दुई मिलिलिटर रगत समेत निकालिएको र उक्त रगत र नानीको चेकजाँच गरेपछि मात्र उक्त नानी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने बताइएको छ ।

डा राईका अनुसार विशेष रुपमा चोट पटकका कारण आँखाको नानीमा समस्या आएर दृष्टि गुमाएकाका लागि आँखाको नानी प्रत्यारोपण गरिने छ । दृष्टि गुमाउने बढी हुने र त्यसको तुलनामा आँखा दान गर्ने व्यक्ति कम हुने भएकाले कर्नियाँको अत्याधिक माग छ । मृतकको आँखाबाट निकालिएको नानी खेर नजाने डा राईले बताए ।

दुर्गाचन्द्र मेमोरियल ट्रस्टमार्फत मेची नेत्रालयको प्राविधिक सहयोगमा आँखा दानको प्रक्रिया सञ्चालन भइरहेको र मृत्यु भएकाको कर्निया निकाल्ने काम समेत हुने भएकाले यस कार्यमा इच्छुकहरुले कुनै पनि बेला काँकरभिट्टास्थित मेची नेत्रालयमा सम्पर्क गर्न सकिने मेची नेत्रालयका प्रवधन्क नवराज प्रधान बताउछन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *