डिउटीमा रहेका डाक्टरमाथि बिरामीका आफन्तद्धारा कुटपिट

काठमाडौँ । डोटी जिल्ला अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि कुटपिट भएको छ । आइतबार दिउसो तीन बजेतिर डिउटीमै रहेका बेला उनीमाथि कुटपिट भएको हो ।

राम्रोसंग उपचार नगरेको आरोप लगाउँदै विरामीका आफन्त बताउने विजयसिह विष्ट, टेकबहादुर विष्ट, हिक्मत बहादुर विष्ट र अरुण महतको टोलीले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट नाक, मुख, हात र टाउकोमा चोट लागेको जिल्ला अस्पतालका मेसु  डा . सतिश विष्टले बताए । उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्नेहरु अहिले प्रहरी हिरासतमा छन् ।

परिवार नियोजनको क्याम्प चलेको र जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र केदार अखडामा कार्यरत डा. सिंहलाई एक महिने काजका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो । तर यहि बेला उनी माथि आक्रमण भयो ।

कसरी भयो घटना ?

कुटपिटमा परेका डाक्टर सिंहले नेपाली हेल्थलाई यसरी विस्तार लगाए …..

दिउसोको दुई जति बजेको हुँदो हो । एक जना ३५ बर्ष जतिको महिला सिभिअर पेन ( एकदमै बढी दुखाई) लिएर आउनु भयो ।उहाँको ढाँड तथा तल्लो भागमा यति बढी दुखाई थियो कि कुर्सीमा अडिन समेत सकिरहनु भएको थिएन । घुडा टेकेर भुईमा बस्नु भएको थियो ।

मैले तत्काल इमरजेन्सीमा लगेर तत्काल दुखाई घटाउने इन्जेक्सन लगाईदिन भने । पहिले दुखाई घटाएपछि अरु परीक्षण पछि गर्ने भने । सोही अनुसार गरियो । इन्जेक्सन पछि दुखाई कम भयो ।

त्यसपछि युएसजी गर्ने भन्ने कुरा आयो । अनि मैले भने, यहाँ युएसजी गर्ने डाक्टर क्याम्पमा जानुभएको छ । गर्भवती र गर्भपतनका लागि आउनेहरुको मात्रै सामान्य रुपमा युएसजी हुने गरेको छ भनेँ ।

तर उनीहरुले थप उपचार यहि गर्न पाएँ हुनेथियो भन्ने जस्तो गरे । उहाँको लक्षण हेर्दा मिर्गौलामा पत्थरी हो जस्तो देखिन्थ्यो । र उनीहरुकै सहजताका लागि युएसजी गर्दिउला भनेँ ।

जब युएसजी कोठामा पुगियो  उनी र उनीसंगै आएका व्यक्तिहरुले किचकिच गर्न थालेँ । ‘तँ’ सम्वोधन गर्दै र उपचारमा शंका लिदैँ ग्यारेन्टी गराउन खोजे ।

‘तैले राम्ररी गर्न त सक्छस ? ठिक पार्नैै पर्छ’ जस्ता शब्दहरु दोहोरयाउदै गए । म शुरुमा त के भनेको होला भन्ने लाग्यो तर त्यो क्रम बढाउँदै लगे । उनीहरु म संग सामान्य व्यवहार गरिरहेका थिएनन् ।

मैले भने, ‘तपाईँहरुलाई त्यस्तो संका लाग्छ भने अन्यत्र गएर सेवा लिन पनि सक्नुहुन्छ,’ भनेँ । उनीहरुले होइन तैले अन्यत्र पठाउन पाउँदैनस भने । थर्काए जस्तो गर्न थाले । अनि मैले पैसा फिर्ता गरिदिन्छौँ । तपाई म माथि शंका गर्नु भयो ? त्यसैले प्लिज अन्यत्र गएर उपचार गर्नुहोस भनेँ ।

उनीसंग आएका पुरुष आफन्तले तैले साच्चिकै उपचार गर्दैनस् ? भनेर ठूलो स्वर गरेँ । मैले तपाईँहरुको यो व्यवहारले मैले कसरी उपचार गर्न सक्छु भनेर जवाफ दिएँ । त्यसपछि पैसा फिर्ता गर भने । मैले फिर्ता गर्नु भनेर लेखेर दिएँ । उनीहरुले पैसा फिर्ता लिए ।

त्यसपछि जाने बेलामा त्यो मान्छेले मलाई धक्यायो । मैले त्यसलाई सामान्य रुपमा लिएँ । त्यसपछि फेरी किन उपचार गरिनस भन्दै एक्कासी टाउकोमा हिर्कायो । उसले हिर्काइसकेपछि मैले पनि प्रतिकार गर्ने कोशिश गरेँ तर मैले कहाँ उनीहरुसंग लड्न सक्थेँ र ।

पछि अरु मान्छे आएर छुट्याए । म माथि मेसु सरको कोठामा गएर रेष्ट गरेँ ।

करीब एक घण्टा पछि त्यहि व्यक्तिले अरु तीन चार जना केटाहरु लिएर आएछ । म ढोका थुनेर बसेँको थिएँ । उनी खोज्दै आएछन र म बसेको कोठाको ढोका फोडेर एकोहोरो आक्रमण गरे । पछि स्थानीय, अस्पतालका कर्मचारीहरु मिलेर उनीहरुलाई मबाट छुट्याए ।

उनीहरुको आक्रमणबाट मेरो नाकमा चोट लागेको छ । दाँत भाचिएको छ । पाखुरा पनि सुनिएको थियो । तर भाचिएको चाही रहेनछ । त्यो भन्दा बढी टाउकोमा प्रहार बढी भयो । यसले अलि असर गर्छ कि जस्तो लागि रहेको छ ।

सिमित स्रोत साधन सहित विरामीको उपचारमा खटिएको एउटा डाक्टरमाथि यस्तो व्यवहार गरिन्छ भने कुन मनोवलले उपचार गर्न सकिन्छ । म सिराहाको मान्छे त्यहाँ पुगेर सेवा दिइरहेको थिएँ । यसमा त गर्व गर्नुपर्ने थियो । तर म माथि यस्तो आक्रमण भयो ।

(डा. सिंहसंग रामप्रसाद न्यौपानेले गरेको कुराकानीमा आधारित)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com