स्वास्थ्यका छ निकायमा छ महिना पछि फेरिए छ जना
काठमाडौँ, १० कात्तिक । सर्वोच्च अदालतले ६ महिना अघि आफैले दिएको आदेश निस्कृय पारेपछि स्वास्थ्य मन्त्रालय अन्तरगतका विभिन्न निकायमा नियुक्त पदाधिकारीहरु परिवर्तन भएका छन् । नेतृत्व परिवर्तन हुने निकायहरुमा सिंहदरबार बैद्यखाना, नेपाल नर्सिङ परिषद, नेपाल फार्मेसी परिषद, नेपाल आयुर्वेद चिकित्सा परिषद र नेपाल स्वास्थ्य व्यवसायी परिषद छन् ।
तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीका पालामा नियुक्त भएका ती संस्थाका प्रमुखहरुलाई विदा गर्दै अघिल्ला स्वास्थ्य मन्त्री गगन थापाले गत १७ फागुनमा नयाँ व्यक्तिहरुलाई नेतृत्वमा ल्याएका थिए । त्यस विरुद्ध हटाइएका पुराना पदाधिकारीहरु सर्बोच्च पुगेका थिए ।
सर्बोच्चले गत ५ बैशाखमा तत्कालिन मन्त्री थापाले गरेको निर्णय विरुद्ध हुने गरी पुराना पदाधिकारीको पक्षमा अन्तरिम आदेश दिएपछि नयाँ नियुक्ति लिएकाहरुले कुर्सी छोड्न बाध्य भएका थिए । तर गत ५ कात्तिकमा सर्बोच्चले यसअघिको अन्तरिम आदेशलाई निस्कृय गर्दै मुद्धालाई फुल बेन्चमा पठाउने निर्णय गरेको थियो ।
सो दिन सर्बोच्चका प्रधानन्यायधीश गोपाल पराजुली र आनन्दमोहन भट्टराईको इजलासमा चडेको सो मुद्धामा निर्णय त्यति मात्रै भएन बरु ठिक छ महिना अघि दिएको अन्तरिम आदेशलाई निस्कृय गर्ने निर्णय समेत भयो । अन्तरिम आदेश निस्कृय भएपछि अघिल्लो आदेशले पुर्नस्थापित भएका पदाधिकारीहरुले कुर्सी छोडन बाध्य भएका छन् ।
को को हटे को को आए ?
सर्बोच्चको ५ कात्तिकको निर्णयपछि बैद्यखानाको प्रवन्ध निर्देशकमा डा. बंशदिप खरेल हाजिर भएका छन् । यसअघि बैद्यखानामा डा राजेन्द्र गिरी प्रवन्ध निर्देशक थिए ।
यस्तै फार्मेसी परिषदको अध्यक्षमा केशवध्वज जोशीले नियुक्ति लिएका छन् । यसअघि अन्तरिम आदेशबाट पुर्नस्थापित भएका बाबुराम हुमागाई परिषदबाट विदा भएका छन् ।
यता डा नर्सिङ काउन्सिलमा प्राध्यापक गोमा निरौला अध्यक्ष भएकी छन् ।यसअघि परिषदमा प्राध्यापक चन्द्रकला शर्मा अध्यक्ष थिइन ।
यस्तै ५ कात्तिकको निर्णयपछि नेपाल स्वास्थ्य व्यावसायी परिषदमा नेतृत्व गर्न रामप्रसाद भण्डारी आएका छन् । परिषदमा यसअघि दीपेन्द्र झाले नेतृत्व सम्हालेका थिए । यस्तै आयुर्वेद चिकित्सा परिषदमा डा. धनिकलाल भरखेललाई कुर्सी सम्हाल्ने मौका मिलेको छ ।
परिषदमा यसअघि अन्तरिम आदेशबाट डा झलक गौतम अध्यक्षमा पुर्नस्थापित भएका थिए । यस्तै ५ कात्तिकको निर्णयले त्यस्तै आयुर्वेद चिकित्सा परिषदको रजिष्टार डा रामचन्द्र पाण्डेको ठाँउमा नारायण श्रेष्ठलाई कार्यभार सम्हाल्ने बाटो खुलेको छ ।
यता सर्बोच्चले नर्सिङ परिषदका रजिष्टार लक्ष्मी राई, नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार काशी रिमाल, तथा जीपी कोइराला स्वास प्रश्वास केन्द्रका अध्यक्ष यज्ञबहादुर भण्डारीको अन्तरिम आदेशको बारेमा कुनै निर्णय नगरेपछि उनीहरुलाई काममा जान बाटो छेकिएको छैन ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



