काठमाडौँ नेशनल मेडिकल कलेजको अनुगमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौँ, ६ भदौ । स्वास्थ्य मन्त्रालयले भर्खरै सम्वन्धन पाएको घट्टेकुलोस्थित काठमाडौँ नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अनुगमन गर्ने भएको छ । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा मन्त्रालयको टोलीले अनुगमन गर्ने भएको हो ।

मन्त्री पोखरेलले यर्थात बस्तुस्थिति बुझी सात दिन भित्र प्रतिवेदन पेश गर्न ८ सदस्यीय टोली गठन गरेका छन् । ती टोलीका सदस्यहरुमा मन्त्रालयका अनुगमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह, चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ, डा गुणराज लोहनी, रेडियोलोजिष्ट डा स्वयंप्रकाश पण्डित, औषधि व्यवस्था विभागका प्रमुख नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा रुना झा, मन्त्रालयका उपसचिव भवनाथ खतिवडा र नर्सिङ प्रशासक कविता अर्याल तोकिएका छन् ।

‘सम्वन्धन पछि फ्याकल्टी, पूर्वाधार तथा जनशक्तिको विषयमा अनेक खालका टिका टिप्पणी उठेपछि मन्त्री ज्युले अनुगमनको लागि कमिटि गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिनु भएको छ । हामी त्यही अनुसार तयारी थालेका छौँ,’ अनुगमन टोलीका सदस्य डा श्रेष्ठले बताए ।

गत १२ साउनमा बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले काठमाडौँ नेशनल मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्नसक्ने गरि दिइएको सम्वन्धनको निर्णय विवादमा परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *