बाढी पसेर रोकिएका तराईका १५ वटा बर्थिङ सेन्टरको सेवा टेन्टबाट फर्काइदै

काठमाडौँ, ६ भदौ । बाढी पसेर सेवा रोकिएका तराईका १५ वटा बर्थिङ सेन्टरको सेवा अब टेन्टबाट बनाइने अस्थायी बर्थिङ सेन्टरबाट दिइने भएको छ ।

स्वास्थ्य सेवा विभाग विपत व्यवस्थापन समितिले बाढीले तहस तहस भएका बर्थिङ सेन्टरको सेवा तत्काल सुचारु गर्न टेन्टबाट अस्थायी बर्थिङ सेन्टर बनाएर दिने निर्णय गरेको हो ।

गत २६ साउन देखि परेको अविरल बर्षापछि आएको बाढीले पूर्वी तथा मध्य तराईका जिल्लाहरु डुवानमा परेको थियो । बाढीबाट सर्लाहीमा ५, महोत्तरीमा ३, धनुषमा २, सुनसरीमा २ र सप्तरीमा ३ गरी १५ वटा बर्थिङ सेन्टर काम नलाग्ने अवस्थामा पुरयाएको छ ।

सोमबार स्वास्थ्य सेवा विभागका महानिर्देशकको उपस्थितिमा बसेको विपत व्यवस्थापन समितिको बैठकले विश्व स्वास्थ्य संगठनले उपलव्ध गराएको टेन्टबाट अस्थायी सेन्टर बनाई सेवा सूचारु गर्ने निर्णय गरेको हो ।

‘बाढीले कतिपय सेन्टरहरु डुवानमा परे र काम नलाग्ने अवस्थामा पुगेका छन् । ती स्थानमा तत्काल सेवा प्रवाह गर्न टेन्टमै सेन्टर खोल्न खोजिएको हो । हामी भूकम्पका बेला पनि यस्तै गरी स्वास्थ्य सेवा सूचारु गरेका थियौँ ,’ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुंगानाले बताए ।

विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका उपमहानिर्देशक चुडामणी भण्डारीले नवलपरासीमा स्थानीय साझेदारहरुसंंग बाढी प्रभावित स्थानका गर्भवती, स्तनपान गराईरहेका महिला र बच्चाहरुको पोषणको स्थिति अनुगमन गर्ने काम भईरहेको, प्रभावित क्षेत्रका लागि केन्द्रबाट औषधि पठाइरहिएको बताए । उनले महामारी फैलन नदिन र सावधानी अपनाउनका लागि जनचेतनामुलक कार्यक्रम अघि सारिएको समेत बताए । 

गत साउनको अन्तिम साता आएको बाढीबाट १४० भन्दा बढीको मृत्युभएको छ भने ३० भन्दा बढी हराईरहेका छन् । हजारौँ परिवार विस्थापित भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *