३५ वर्षको उमेरमा १८औं पटक सुत्केरी !

बैतडी ३ साउन । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन ।

१५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन ।

१७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो । अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन । ‘मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र ?’  देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उहाँको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

देउता खुसी पार्न यातना
कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन । त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दै हुनुहुन्छ ।

सुत्केरी भएको चार दिनमा उहाँलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ । गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उहाँलाई परिवारका कुनै सदस्यले छुँदैनन् । भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ । पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छ ।

३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन् । गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय । त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन् ।

गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ । त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ । तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन । ‘बच्चा मरेको मर्‍यै भए । अस्पताल जाँदा पनि केही भएन । वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो । आमालाई दूध(दही, हरियो(परियो दियो भने त्यो पनि मर्छु, पति घनश्यामले भन्नुभयो, ‘पाप हुने काम गर्नुहुन्न । यो हाम्रो समाजको नियम हो ।’

देवकीजस्तै सुदूरपश्चिमका अधिकांश सुत्केरीले देउता खुसी पार्ने नाममा यस्तो यातनामा बाँच्नुपरेको छ । धेरै सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ । ‘म धन्न बाँचेको छु । मेरा धेरै छिमेकी यस्तो बेला मरेका छन् । बच्चा त कति खेर जान्छन् कति,’ देवकीले भन्नुभयो ।
देवकीको भनाइमा सत्यता भएको बैतडी जिल्ला अस्पतालका प्रमुख एवं सुत्केरी रोग विशेषज्ञ डा। गुणराज अवस्थी बताउनुहुन्छ ।’

‘सुत्केरीलाई श्रीमान्ले समेत छुन्नन् । जतिबेला सबैभन्दा धेरै माया र हेरचाह गर्नुपर्ने हो, त्यतिबेलै सुत्केरीसँग टाढा भाग्छन् उनीहरू । त्यस्ता मानिससँग कैयौंपटक मेरो झगडा नै परेको छु, डा. अवस्थीले भन्नुभयो, ‘हाम्रा स्वास्थ्यकर्मी एक्लै हुन्छन् । परिवारका सदस्यले बच्चा र सुत्केरीलाई छुन नमान्दा बच्चालाई न्यानो लुगा लगाउँदा, सफा गर्दा, आमाको दूध खुवाउँदा सहयोग गर्ने कोही हुन्नन् ।’

  • अन्नपूर्ण पोष्टमा दीपा दाहालको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *