यसरी बचायौँ मृत्युको मुखैमा पुगिसकेकी विनितालाई

- नेपाली हेल्थ
डा. पवनकुमार साह

एउटी आमाको लागि आफ्नो जीवनमा सबैभन्दा महत्वपूर्ण क्षण कतिखेर होला ? सायद जब उनी मातृत्व ग्रहण गर्छिन् वा भनौ ९ महिना कोखमा हुर्काएर जन्माएको शिशुलाई जन्माएर छातीमा अंङगाल्न पाउछिन, अनि स्तनपान गराउन पाउछिन् ।

तर यदि त्यहि आमाले ९ महिना पेटमा हुर्काएको आफ्नो सन्तान धर्तीमा आउने बेलामा निस्प्रभावि बनिदियो । प्रतिक्रिया विहीन देखियो । अझ भनु न मुटुको धडकन छ न छ स्वासको गति भने कस्तो होला त्यो आमालाई । उनको त्यो क्षणलाई हामी सहजै अनुमान गर्न सक्छौँ ।

यस्तै केश म कार्यरत पाँचथर जिल्ला अस्पतालमा आईलाग्यो । गत २१ माघका दिन रानीगाँउ – ६, निवासी २९ बर्षीया विनिता लिम्बुलाई परिबारले हस्याङ फस्याङ गराउँदै अस्पताल ल्याईपुरयाए । सुत्केरी व्यथा लागेको ३६ घण्टा सम्म पनि बच्चा जन्मन नसकेपछि बिनितालाई परिवार अस्पताल ल्याई पुरयाएका थिए ।

मेडिकल भाषामा सामान्यत प्रसुति व्यथा १८ घण्टा भन्दा बढी भएमा त्यसलाई लामो व्यथा भनिन्छ । उनको डबल अर्थात ३६ घण्टा भईसकेको थियो ।

हामीले ढिला नगरी उनलाई हेरयौँ । गर्भवती महिलाको महत्वपूर्ण चिन्हहरु जस्तै रक्तचाप, स्वासप्रस्वास, तापक्रम र मुटुको धड्कन राम्रो थियो । तर पेटमा रहेको शिशुको मुटुको धड्कन सुन्न गाह्रो भयो । तत्कालै अल्ट्रासाउण्ड गरेर हेरियो तर फेरी पनि बच्चाको धडकन देखिएन । हामीले निस्कर्ष निकाल्यौँ पेटको बच्चा जिउँदो छैन ।

उपचार पछि विनिता

बच्चा जिउँदो भएको भए सिजरियन सेक्सन गर्न सकिन्थ्यो तर जिउँदो नभएकोले भ्याकुम लगाएर बच्चाको डेलिवरी गर्ने प्रयास गर्यौ र सफल पनि भयौं तर पाठेघरको मुखबाट रगत बगिरह्यो सामान्य भन्दा बढी ।

पाठेघरको जाँच गर्दा पाठेघरको अगाडिको भित्तामा प्वाल परेको पत्ता लाग्यो । त्यो प्वाल टाल्नको लागि अपरेसन नै गर्नु जरूरी थियो तर उनको ब्लड ग्रुप एबी पोजिटिभ थियो जुन बिरलै पाइने व्लड ग्रुप हो । तर उनको भाग्य नै ठुलो भनौ दुर्इ जना बिद्धार्थीको ब्लड ग्रुप मिल्ने रहेछ । तिनी हरुले तुरुन्तै रक्तदान गरे ।

त्यसपछि हामीले बिरामीलाई ओटीमा तुरुन्तै लग्यौ । रगत चढाउदै पेट खोलेर हेर्दा पेटमा रगत आहाल थियो त्यसलाई तुरुन्तै सक्सनले सफा गर्यौ । पाठेघरको चोट खोज्यौ । पाठेघरको अगाडिको भित्तामा करिब ५.८२सेमीको प्वाल थियो जसलाई रिपेयर गर्न सफल भयौ । उनको बच्चालाई जीवन दिन नसके पनि उनलाई जीवन दिन सक्यौ । यसले हामीलाई एउटा सुखद क्षणको आभास दिलायो ।

अपरेसन गरेको पाँचौ दिनमा डिस्चार्ज गर्यौ।  उनी र उनको श्रीमानको मुस्कानले हामीलाई हर्षित गरायो । अनि हामी मनमनै गदगद पनि भयौकी हामी एउटी आमालाई मर्न बाट बचायौँ ।

यस अपरेसनमा संलग्न डा. अभिशेष थपलिया ( मेडिकल अधिकृत), प्रदीप शाह(अनेस्थेसिया असिस्टेन्ट), उमेश शाह, मेनुका ओझा (नर्सिङ्ग स्टाफ), खगेन्द्र राजबंशी (ल्याब असिस्टेन्ट ) लगायत सम्पूर्ण अस्पताल परिवार प्रति आभारी छु ।

अन्तमा,
कतिपय अवस्थामा चिकित्सकको हर प्रयासले पनि विबरामी बचाउन सकिदैन । किनकी डाक्टर पनि त मान्छे हो भगवानै त होइन । विरामी बचाउन नसक्दा परिबारलाई जति जोट पर्छ डाक्टरलाई पनि त्यतिनै दुखित हुन्छ । किनकि उ पनि तपाइँ हामी जस्तै मन भएको मान्छे हो र उ तपाइँ भन्दा केहि कुरामा फरक छैन केवल एक कुरा बाहेक त्यो के भने उसको चिकित्सकीय सेवा ।

# डा साह पाँचथर जिल्ला अस्पतालमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।


Facebook Comment


थप समाचार