काँचुली फेर्दै हुम्ला जिल्ला अस्पताल : ‘सिजेरियन सेक्सन’ सेवा सुरु, फार्मेसी पनि सञ्चालनमा

हुम्ला, २६ मंसिर – चिकित्सकको अभावमा कुनै बेला सामान्य चोटपटकको समेत राम्रो उपचार हुन मुस्किल पर्ने हुम्ला जिल्ला अस्पतालले यतिवेला विशेषज्ञ चिकित्सक पाएको छ । विशेषज्ञ चिकित्सक पाएसंगै जटिल केशहरु समेत जिल्ला अस्पतालले सम्हाल्न सफल भएको छ ।

दुई साता अघि हुम्ला पुगेका विशेषज्ञ चिकित्सक डा. प्रफुल्लकुमार झा(एमडीजीपी)ले आज इमरजेन्सी शल्यक्रिया गरी सुत्केरी हुन नसकेकी २० बर्षीया युवतीको ज्यान बचाएका छन् । जिल्ला सदरमुकाम सिमिकोटबाट झण्डै २ घण्टा पैदल दुरी पर्ने बर्गाउकी पेमा लामा सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको थियो । तत्काल शल्यक्रिया नगरे ज्यानै जोखिममा पर्ने अवस्था भएपछि डा झाको नेतृत्वमा चिकित्सकहरुको टोली आकस्मिक सल्यक्रिया (सिजेरियन सेक्सन)मा खटिएको थियो । अस्पतालकी प्रमुख डा. स्मृति महत भन्छिन्, ‘अहिले आमा र शिशु दुबै स्वस्थ छन् । हामीले स्तरीय सेवा दिन सफल भएका छौँ ।’

इमरजेन्सी सल्यक्रियाद्धारा सुत्केरी गराउँदै चिकित्सकको टोली

त्यसो त जिल्ला अस्पतालले आजैबाट फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएको छ । ‘विहान १० देखि ४ बजेसम्म फार्मेसीमा स्टाफ राख्नेछौँ, त्यसबाहेक अरु बेला फार्मेसीको साँचो अस्पतालको डिउटीमा रहेका स्टाफले राख्नेछन् ।आवश्यक परेको बेलामा विरामीले औषधि पाउने छन् ‘ डा. महतले भनिन् ।

उनले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याउँदा आम सर्वसाधारणले बाहिर भन्दा सुलभ दरमा औषधि किन्न सक्ने बताइन् । ‘यसले त अस्पताललाई पनि फाइदा र आम सर्वसाधारणलाई पनि लाभ पुग्नेछ’ उनले भनिन् ।

उता अस्पतालले केही समय पछि एक्सरे सेवा समेत उपलव्ध गराउने तयारी गरेको छ । अस्पताल सुदृढिकरणको बजेटबाट खरिद गरिएको एक्सरे मेसिन हुम्लासम्म पुरयाउने जिम्मा नेपाल अस्ट्रिया पार्टनरसीप नेपालले लिएको छ भने एक्सरे राख्नका लागि भवन  रुलर रिकन्स्ट्रक्सन नेपाल नामक संस्थाको सहयोगमा बन्दै छ ।

‘अहिले हामी एक्सरेका लागि भवन बनाउँदै छौँ ‘ डा. महतले भनिन्, ‘अवको केही साता भित्र  भवन पुरा हुन्छ र एक्सरे सेवा सुरु हुन्छ ।’

आजबाट सञ्चालनमा आएको अस्पताल फार्मेसी

हिमाली जिल्ला भएकोले हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप सिजन अनुसार घटबढ हुन्छ । ‘अहिले ओपिडीमा दैनिक ४०-४५ जना आउने गर्छन । इमरजेन्सी केस ५ देखि १० वटा सम्म आउने गरेको छ,’ डा. महतले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “काँचुली फेर्दै हुम्ला जिल्ला अस्पताल : ‘सिजेरियन सेक्सन’ सेवा सुरु, फार्मेसी पनि सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *