मेट्रोल्याब्समा एक महिनासम्म मधुमेहको निशुल्क परीक्षण सुविधा

पारस खड्काले सुरु गरे मेगा अभियान
0
Shares

काठमाडौँ, २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसर पारेर मेट्रोल्याब्स प्रालीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ नारासहित मेगा सामुदायिक मधुमेह परीक्षण अभियानको शुभारम्भ गरेको छ।

बढ्दो मधुमेहको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियानको औपचारिक सुरुवात मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्व राष्ट्रिय क्रिकेट कप्तान पारस खड्का र काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले स्वयं आफ्नो रगतको नमुना दिएर गरेका हुन्।

उनीहरूको यस सहभागिताले मधुमेहको समयमै पहिचान र नियमित स्वास्थ्य परीक्षणप्रतिको जनचेतनालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यस अभियानअन्तर्गत आगामी डिसेम्बर ३१, २०२६ सम्म सर्वसाधारणका लागि निःशुल्क रूपमा ब्लड सुगर तथा एचबिए१सी परीक्षण उपलब्ध गराइएको मेट्रो ल्याबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मधुमेहको प्रारम्भिक पहिचान, सम्भावित स्वास्थ्य जोखिमबारे जनचेतना अभिवृद्धि तथा रोकथाममुखी स्वास्थ्य सेवालाई समुदायको पहुँचमा पुर्‍याउनु यस पहलको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ।

इन्टरनेसनल डाइबेटिज फेडेरेसनको अनुमानअनुसार नेपालमा करिब १२.६ लाख वयस्कहरू मधुमेहबाट प्रभावित छन्, जसमध्ये ७० प्रतिशतभन्दा बढीलाई आफ्नो मधुमेह अवस्थाबारे कुनै जानकारी छैन। समयमै पहिचान र उचित व्यवस्थापनले यसबाट उत्पन्न हुन सक्ने गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ।

अभियानको शुभारम्भ गर्दै पूर्व कप्तान पारस खड्काले भने, “मधुमेहविरुद्धको लडाइँ रोग लागेपछि होइन, समयमै सचेत भएर सुरु गर्नुपर्छ। स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण नै यसको जोखिम कम गर्ने महत्त्वपूर्ण उपाय हुन्। मैले आफ्नो सुगर परीक्षण गराएर यस अभियानमा सहभागिता जनाएको छु। अब तपाईंको पालो !”

त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले स्वस्थ समुदाय निर्माणका लागि नागरिकहरूमा स्वास्थ्य परीक्षण र रोगको समयमै पहिचान गर्ने बानीको विकास हुनुपर्नेमा जोड दिँदै सबै नागरिकलाई यस अभियानमा सहभागी हुन आग्रह गरे।

मेट्रोल्याब्सका प्रबन्ध निर्देशक तथा जनस्वास्थ्यविद् शंकर देवकोटाले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा मात्र नभई रोकथाममुखी र सुलभ हुनुपर्ने बताए।

यस मेगा अभियानअन्तर्गत सेवाग्राहीले निःशुल्क फास्टिङ/र्‍यान्डम ब्लड सुगर तथा एचबिए१सी परीक्षण गराउन सक्नेछन्। ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू, परिवारमा मधुमेहको इतिहास भएका, उच्च रक्तचाप वा कोलेस्ट्रोल भएका, ज्येष्ठ नागरिक, गर्भावस्थामा मधुमेह देखिएका तथा अन्य जोखिम समूहका व्यक्तिहरूलाई विशेष रूपमा परीक्षणमा सहभागी हुन भनिएको छ।

इच्छुक नागरिकले My Health Now App डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गरेर नयाँ बानेश्वरस्थित मेट्रोल्याब्समा उपस्थित भई यो सेवा लिन सक्नेछन्। मेट्रोल्याब्सले अत्याधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप भरपर्दो परीक्षण सेवा प्रदान गर्दै आएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *