दादुरा खोप लगाएका २७ प्रतिशतलाई देखियो दादुरा

nhrc

काठमाडौँ, १३ मंसिर – नेपालमा दादुरा रुवेला खोपको प्रभावकारीतामा प्रश्न उठेको छ । खोप लगाइएकै बालबालिकामा पुन दादुरा देखिएपछि प्रभावकारितामा प्रश्न उठेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गतवर्ष कपिलवस्तुमा गरेको अनुसन्धानले दादुरारोग विरुद्धको खोप लगाएका बालबालिकाहरु पनि दादुराको संक्रमणमा परेको पाइएको थियो । परिषदले आज राजधानीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा दादुरा खोप लगाएका २६.६ प्रतिशत बालबालिका दादुराको संक्रमण भएको पाइएको थियो ।

कपिलवस्तुको बसन्तपुर, कोपवा, पर्सोहिया, रंगपुर र सोमडीका गरि १२७ जना बालबालिकामा गरेको अध्ययनमा २६ प्रतिशतमा दादुरा प्रतिरोधि क्षमता रहेको र ६७ प्रतिशतमा दादुरा प्रतिरोधी क्षमता नरहेको देखिएको छ । अनुसन्धानले २ बर्ष मुनिका बालबालिकामा बढी संक्रमण भएको देखाएको छ ।

गतवर्ष पुसमा कपिलवस्तुको सोमडी गाविसको ७ र ८ नम्बर वडामा दादुराबाट ६ जनाको मृत्यु र ५० जना विरामी भएको समाचार सार्वजनिक भएपछि बास्तविकता अध्ययन गर्न परिषदको टोली माघको दोस्रो साता कपिलवस्तु पुगेको थियो । परिषदको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा अनुसन्धान गरेको जनाएको छ ।

यसैबीच स्वास्थ्य मन्त्री गगन थापाले आज एक समारोहकाबीच परिषदबाट केही समय यता भएका विभिन्न अनुसन्धान प्रतिवेदनको सार्वजनिक गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले नेपालमा अनुसन्धानको क्षेत्रमा कम काम भएको बताउदै परिषदलाई अझ अनुसन्धान केन्द्रीत हुन आग्रह गरे । उनले स्वास्थ्यमा गरिने अनुसन्धानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

परिषदका सदस्यसचिव डा खेमबहादुर कार्कीले सिमित स्रोत साधनका बाबजुत गुणस्तरीय रुपमा अनुसन्धान कार्यलाई अघि बढाएको बताए । उनले भविस्यमा स्वास्थ्यका समसामयिक विषयमा थप अनुसन्धान हुने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *