सुत्केरी व्यथाले छट्पटाइकी आइतमायाको हेलिकप्टरबाट उद्धार
गोरखा, १७ कात्तिक – तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।
सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए ।
आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो । “रु एक लाख ३० हजार भाडा तिरेर हेलिकप्टर भाडामा लिएका हौँ,” गुरुङले भने – “छरछिमेक, आफन्तले पैसा जुटाएका हुन् ।” आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।
स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौैँ लगिएको हो । गुम्दा गाउँसम्म सडकको ट्र्याक खुलेको भए पनि भनेका बेला जिप चल्दैनन् । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।
दुर्गम क्षेत्रमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीयवासीले ऋण खोजेर हेलिकप्टरमार्फत सुत्केरी गराउन अन्यत्र लानुपर्ने बाध्यता छ । रासस
एअर एम्बुलेन्सका लागी कहा सम्पर्क गर्नुपर्ला??
दुर्गमका गर्भवती तथा सुत्केरीको उद्धार गर्न सरकारले बजेटको व्यवस्था गरेको छ । स्वास्थ्य सेवा विभाग परिबार स्वास्थ्य महाशाखा टेकु मार्फत सो बजेटको उपयोग गर्न सकिनेछ । दुर्गमका जनताले लाखौँ खर्च गरेर हेलिकप्टरबाट गर्भवती तथा सुत्केरीको उद्धार गर्ने गरेका छन् तर सरकारले छुट्याएको बजेट भने अहिले पनि पुरा खर्च हुन सकेको छैन र प्रिज हुने गरेको छ ।