दमकमा डेङ्गु नियन्त्रणका लागि विशेषज्ञ टोली

dangue

झापा, ११ कात्तिक- झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ । अहिले यहाँ स्वास्थ्य मन्त्रालयबाटै आएको विशेषज्ञ टोली समेत खटिएको छ ।

दमक क्षेत्रमा मात्र डेङ्गु सङ्क्रमितको सङ्ख्या १०० नाघेपछि सरकारले टोली नै खटाएर नियन्त्रणको प्रयास गरेको हो । “हाम्रो ध्यान दमकमा छ,” जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख देवराज कार्की भन्छन् – “सङ्क्रमितको पहिचान, उपचार र लामखुट्टे नियन्त्रणमा सरकारी टोलीले युद्धस्तरमा कार्य गरिरहेको छ ।”

धमाधम बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग प्रभावित क्षेत्रमा केन्द्रबाटै चिकित्सक र प्राविधिक टोली खटाउनु परेको जनाइएको छ ।

झापामा तीन वर्षअघि पनि डेङ्गु सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको थियो । सन् २०१२ मा मेचीनगर क्षेत्रमा यसको सङ्क्रमण बढी मात्रामा भेटिएको थियो । अहिले दमकमा धेरै पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले दमकमा डेङ्गु जाँचका लागि आवश्यक कीटसहित डा. यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर बिसीलाई खटाएको छ ।

उनीहरूले त्यहाँ पुगेर डेङ्गु नियन्त्रणका लागि काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रोग प्रभावित क्षेत्रमा ‘सर्च एन्ड डिस्ट्रोएड’ अभियान पनि सञ्चालन गरिएको छ । टोलीले डेङ्गु फैलाउने लामखुट्टेका लार्भा नस्ट गर्ने कार्य गर्दछ ।

दमकमा डेङ्गु रोगबाट बच्न र बचाउन सचेतना कार्यक्रमलाई जनस्वास्थ्य कार्यालयले तीव्र तुल्याएको जनाएको छ । डेङ्गु रोक्ने उपाय लामखुट्टे नियन्त्रण नै एकमात्र भएकाले त्यसका लागि आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय झापाले सर्वसाधारण सबैलाई आह्वान गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *